सिटिजन्स बैंकको ऋणपत्रमा आजसम्म मात्र आवेदन दिन पाइने


सिटिजन्स बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन हो । बैंकले असोज १७ गतेदेखि १० वर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदरमा ‘१० प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०९०’ निष्काशन गरेको थियो ।

बैंकले पर्याप्त आवेदन नपरेको भन्दै आवेदन दिने समय कात्तिक १ गतेसम्म दिएको थियो । माग भन्दा बढी आवेदन परकोले भने कात्तिक १ गते अगावै निष्काशन बन्द गरिएको बैंकले जनाएको छ ।

सो ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्थवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिनेछ । बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो ।

सोमध्ये ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँड गर्ने छ भने बाँकी ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणमा बाँडफाँड गर्ने छ । सर्वसाधारणमा बाँडफाँड गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लिरिङ्ग लिमिटेडबाट निर्माण गरिएको मेरो शेयर अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग त्रिपल बी प्लस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्दछ । बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

 

प्रकाशित मिति: २२ आश्विन २०८०, सोमबार  ०७ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।