काठमाडौँ । नेपाली बजारमा पछिल्लो एक सातादेखि सुनको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारदेखि स्थानीय बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आएको हो ।
गत शुक्रबार १२ हजार ६०० रुपैयाँले घटेको सुनको भाउ आइतबार १ हजार ५०० रुपैयाँले, सोमबार १ हजार १०० रुपैयाँले, मंगलबार १ हजार ९०० रुपैयाँले घटेको थियो ।
त्यसैगरी, बुधबार एकैदिन ६ हजार ३०० रुपैयाँले र आज (बिहीबार) ३ हजार ३०० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ओरालो लागेकाले स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको महासङ्घले जनाएको छ ।
त्यसैगरी, सुनसँगै चाँदीको मूल्य पनि घट्दै गएको छ । गत शुक्रबार तोलामा १५५ रुपैयाँले घटेको चाँदी आइतबार १०० रुपैयाँले र सोमबार ८० रुपैयाँले घटेको थियो । मंगलबार तोलामा ३० रुपैयाँ, बुधबार ११० रुपैयाँले र आज ४५ रुपैयाँले घटेको हो ।
बिहीबार चाँदी प्रतितोला ३ हजार ३३५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला ३ हजार ३८० रुपैयाँमा कारोबार भएको थियो ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ७३३.३६ अमेरिकी डलर र चाँदी ४५.४२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।







