इजरायलमा रहेका नेपाली उद्धार गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलमा रहेका नेपाली नागरिकहरूको उद्धार, स्वदेश फिर्ती, राहत लगायतका विषयमा छलफल गरी निर्णय गर्न मन्त्रिपरिषद्को विशेष बैठक आह्वान गरेका छन् ।

बैठक सोमबार अपराह्न ४ बजे सिंहदरबारमा बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।  मन्त्रिपरिषदको बैठकपछि प्रचण्डले बेलुका ५ बजे सिंहदरबारमा नै सर्वदलीय बैठक बोलाएका छन् । बैठकमा इजरायलमा विकसित परिस्थिति र नेपाली नागरिकहरूको सुरक्षा र हितसम्बन्धी विषयमा छलफल हुनेछ।

इजरायल–हमास युद्धमा परेका र फसेका नेपालीहरूको अवस्थाबारे एकीन गर्न र उनीहरूको उद्दार गर्नका लागि आइतबार बिहान प्रधानमन्त्रीले बालुवाटारमा उपप्रधानमन्त्री रक्षा, उपप्रधानमन्त्री गृह, परराष्ट्रमन्त्री, शिक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार, परराष्ट्र सचिव र सुरक्षा अङ्गका प्रमुखहरूको आकस्मिक बैठक बोलाएका थिए ।

सो बैठकले माननीय परराष्ट्रमन्त्री एनपी साउदको संयोजनमा परराष्ट्र, शिक्षा लगायत सम्बन्धित मन्त्रालयका प्रतिनिधि, सुरक्षा अङ्गका प्रतिनिधि, विदेशस्थित दूतावास, नियोग सहभागी एक ¥यापिड एक्सन टिम गठन गरेको छ । उक्त टीमको बैठकले उद्दार र नेपाली फीर्तिसम्बन्धी आवश्यक गृहकार्य गरिरहेको छ ।

यस्तै सरकारले इजरायलबाट स्वदेश फर्किन चाहने नेपाली नागरिकहरूलाई फिर्ता ल्याउने प्रयोजनका निम्ति लगत संकलन र द्रूत सूचना संयन्त्रसमेत खडा गरिसकेको छ ।

प्यालेस्टाइनी लडाकु समूह हमासले गएको शनिबार इजरायलमाथि आक्रमण गरेपछि दुईतर्फी लडाइँ जारी छ । द्वन्द्वमा १० नेपाली विद्यार्थीसहित ११ सयभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ । ठूलो संख्यामा मानिस घाइते भएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २२ आश्विन २०८०, सोमबार  १२ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।