
अर्थशास्त्रतर्फको यस वर्षको नोबल पुरस्कार अमेरिकी अर्थशास्त्री तथा इतिहासविद् क्लौडिया गोल्डीनले प्राप्त गरेकी छिन् । कार्यक्षेत्रमा महिलाको उपस्थिति र उनीहरुलाई प्रदान गर्ने वतनसम्बन्धी उनले गरेको अनुसन्धानका लागि गोल्डीनलाई नोबेल पुरस्कार प्रदान गरिएको हो ।
अमेरिकामा संगठित रोजगारमा संलग्न महिलाहरुको २०० वर्षको तथ्यांकलाई आधार मानी गोल्डीनले व्यवसायिक कार्यमा आवद्ध महिलाहरुको सङ्ख्या पुरुषको तुलनामा किन कमजोर छ ? र कार्यक्षेत्रमा पुरुषको तुलनामा महिलाको तलव किन कम हुने गर्छ भन्ने विषयमा अध्ययन गरेकी हुन् । विश्वव्यापी रुपमा कार्यक्षेत्रमा हुने लैङ्गिक विभेद हटाउन विभिन्न कार्यहरु भएता पनि समाधानका लागि मुख्य विषयमा नपुगेको नोबल पुरस्कार प्रदान गर्ने प्यानलकी सदस्य र्यान्डी ह्जालमर्सनले बताएकी छिन् ।
कार्यक्षेत्रमा महिलाहरुको सहभागिता कमजोर हुनुमा पछाडिका कारणहरु समेत उल्लेख गरेकी छिन् । विगत २०० वर्षको तथ्यांक केलाउँदा व्यवसायिक रुपमा काम गर्ने महिलाहरुको ग्राफ यु आकारको रहेको गोल्डीनको अध्ययनले पुष्टि गरेको छ । विवाह भन्दा अगाडि कार्यालयहरुमा महिलाको सङ्ख्या बाक्लो रहेता पनि विवाहपछि काम छाड्ने र कामलाई निरन्तरता दिएता पनि जेठो सन्तान भएपछि कार्यालय छाडेर बालबालिकाको स्याहारमा महिलाहरु व्यस्त हुने हुँदा कार्यालयहरुमा तथा व्यवसायिक कार्यहरुमा महिलाहरुको सङ्ख्या घट्दै गएको गोल्डीनको निष्कर्ष रहेको छ । तथापि गर्भ निरोधात्मक औषधी तथा सामाग्रीको विकासपछि कार्यालय जाने र आम्दानी गर्ने महिलाहरुको सङ्ख्या बढ्दै गएको गोल्डीनको अध्ययनले बताउँछ ।
गोल्डीनको अध्ययनले कार्यक्षेत्रमा महिलाको सहभागिता बढाउनका लागि अपनाउन सकिने उपायहरुबारे सुझाव नदिएता पनि वर्षौँदेखि समाजमा गढेर बसेको समस्या उजागर गरेकी छिन् । अर्थशास्त्रमा नोबेल पुरस्कार प्राप्त गर्ने महिलाहरुमा गोल्डीन तेस्रो महिला हुन् । महिलाले महिलाकै विषयमा गरेको यस अध्ययनले आगामी समयमा कार्यक्षत्रमा महिलाको पहुँच वृद्धिका लागि नीति निर्माण गर्न सघाउने विश्लेषकहरुको भनाइ छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया