.jpg)
नेपालले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)ले दिँदै आएको ऋण सहायतामा सहुलियत माग गरेको छ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) संयुक्त वार्षिक बैठकमा अर्थमन्त्री तथा विश्व बैंक समूहका गभर्नर डा. प्रकाशशरण महतले सहुलियत ऋण माग गरेका हुन् ।
धर्तीलाई मानव बस्न बस्नयोग्य बनाउनु पर्ने विश्व बैकको थिमलाई समर्थन जनाउँदै अर्थमन्त्री महतले जलवायू परिवर्तनको गैरअनुपातिक असर परेको नेपाल जस्ता साना अर्थतन्त्र भएका मुलुकका लागि प्रवाह गरिने ऋण सहायता अझ बढी सहुलियतपूर्ण बनाउनु पर्ने र त्यस्ता मुलुकमा क्षमता विकासका कार्यक्रममा लगानी गर्नुपर्ने बताए ।
खासगरी विश्व बैंकले तयार गरेको ’प्लेबुक’ मा सहुलियत दर बढाँउदै जाने कुराको प्रतिबद्धता ठोस रुपमा प्रतिविम्वित हुनुपर्ने उनको भनाइ थियो । निजी क्षेत्रसँग भएका सम्बन्धित उपकरणहरु साना अर्थतन्त्र भएका मुलुकको पहुँचमा पु¥याउनु पर्ने भन्दै उनले ब्यालेन्सीट अप्टिमाइजेसन मार्फत बैंकको आयको महत्वपूर्ण हिस्सा विश्व बैंकको सहुलियतपूर्ण ऋण लगानी गर्ने संरचनाको रुपमा चिनिने ’आईडीए’ मा समावेश गरेर जान सके कम आय भएका देशमा सहुलियत दर बढाउनु पर्ने चासोको सम्बोधन हुन सक्ने बताए ।
त्यसैगरी अन्तर्राष्ट्रिय मुद्राकोषको प्रस्तुतिमा प्रतिक्रिया दिंदै अर्थमन्त्री महतले कोषको वित्तीय सुविधा परम्परागत कोटाको आधारमा वितरण गर्ने विद्यमान अभ्यासका कारण कम प्रतिनिधित्व भएका मुलुकको आवश्यकता प्रतिबिम्वित हुन नसकेकोले जारी कोटा पुनरवलोकन हुनुपर्ने बताए ।
अर्थमन्त्री महतको जिज्ञासको जवाफ दिँदै कार्यकारी निर्देशकहरूले सहुलियतपूर्ण ऋणको अंश बढाउने तर्फ काम सुरु भइसकेको र यसलाई यथाशीघ्र सम्पन्न गरिने बताएका थिए । कार्यक्रममा अर्थमन्त्री महतसँगै नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी, अर्थसचिव कृष्णहरि पुस्कर लगायत सहभागी थिए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया