दसैँ लागिसक्दा पनि चिनी आयातमा सरकारले देखाएन चासो, १५ दिन अगाडि चिनी आउने सम्भावना कम


दसैँमा कालोबजारी नहोस् भनेर सरकारले सुपथ मूल्य पसल सञ्चालन गर्यो । उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको दुग्ध विकास संस्थानको सहकार्यमा सहुलियत मूल्य पसल सञ्चालन गरिएको हो ।

दसैँलक्षित सुपथ मूल्य पसलमा प्रतिकिलो ९७ रुपैयाँमै चिनी बिक्री गर्ने बताइएको थियो । तर त्यो पसलमा सामान किन्न पनि २ घण्टा लाइन बस्नुपर्ने अवस्था छ । दुई किलो चिनी लिन साल्ट्र ट्रेडिङमा घण्टौं लाइनमा बस्नु परेको लाइनमा उभिरहेकी उपभोत्ता सीता अर्याल बताउँछिन् । उनी भन्छिन्, “चिनी कतै पाइन यहाँ छ भनेर आको यही नी चिनी मात्रै नदिने रे चिनी किन्न मात्रै भए पनि अरु सामान किन्नु पर्ने भएको छ के गर्ने दसैँ त टार्ने पर्यो ।”

त्यही चिनी पनि लाइन बस्दा बस्दै सकिने त होइन भन्ने चिन्ता उनमा छ । उनी भन्छिन्, “चिनी धेरै छैन रे अब १० जना पछि त मेरो पालो आउँछ त्यतिन्जेल चिनी पुग्छ कि पुग्दैन ।” दसैँ लागिसक्यो, तर दसैँका बेला बढी खपत हुने चिनी र जिराको नै अभाव भने हटेको छैन । मुख्य खपत हुने वस्तुहरु नै अभाव हुँदा उपभोत्तालाई भने दसैँको रौनक भन्दा पनि चटारो थपिएको छ ।

चिनीको अभाव रहेको उपभोक्ताबाट गुनासो आइरहँदा साल्ट ट्रेडिङका सह महाप्रबन्धक कुमार राज भण्डारी भने चिनीको अभाव नरहेको जीकिर गर्छन् । उनी भन्छन्,“हामीले एक जनालाई २ किलो चिनी दिइरहेका छौँ । हल्लाको पछि नलागौैँ, ९७ रुपैयाँमा नै चिनि पाइरहेकै छ । चिनीको अभाव हुँदैन ।”

उपत्यकाका ६ वटा पसलबाट मात्र उपलब्ध हुने गरेको उनी बताउँछन् । अझै पनि ४ सय टक चिनी मौज्दात रहेको उनको भनाइ छ । उनले चिनीको अभाव छैन भनेर भनिरहँदा प्रतिकेजी १६० रुपैयाँ तिर्दा पनि सर्वसाधारणले सहज रुपमा चिनी पाउन सकेका छैनन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दसैँ, तिहारलक्षित गरेर चिनी आयातबारे अर्थ मन्त्रालय पठाएको तर सरकारले भदौ २९ गते मात्रै चिनी आयात गर्न अनुमति दिएको कारणले चिनीको समस्या बढेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सूचना अधिकारी सर्मिला न्यौपाने बताउँछिन् । अझै १५ दिन चिनी आउने सम्भावना नभएको जानकारी दिइन् ।

अर्थ मन्त्रालयले ढिला गरी कर्पोरेसन र खाद्य कम्पनीलाई १०–१० हजार मेट्रिक टन चिनी आयातको अनुमति दिएको उनको भनाइ छ । सरकारले चिनीको समस्यालाई गम्भिरता पूर्वक लिएको बताउँदै उनले यो समस्या छिट्टै समाधान हुने विश्वास व्यक्त गरेकी छन् ।
यता, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले भारतसँग चिनी उपलब्ध गराउन कूटनीतिक रुपमा आग्रह गरेको बताए । ५० हजार मेट्रिक टन चिनी दिन भारत सरकारलाई अनुरोध गरेको उनकोे भनाइ छ ।

कहाँ-कहाँ छ सूपथ मूल्य पसल ?

खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङको काठमाण्डौं उपत्यकामा रहेका आठ वटा बिक्री केन्द्र र तीन वटा घुम्ती पसल समेत गरी जम्मा ३५ स्थानमा बिक्री स्थल रहेको छ ।

त्यसबाहेक मोरङ्ग, झापा, ताप्लेजुङ्ग, संखुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुङ्गा, खोटाङ्ग, सिरहा, जनकपुर, पर्सा, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, तनहुँ, गोरखा, मनाङ्ग, मुस्ताङ्ग, रुपन्देही, बाँके, दाङ्ग, बर्दिया, रुकुम पूर्व र रुकुम पश्चिममा खाद्य व्यवस्था कम्पनीले सहुलियत पसल सञ्चालन गरेको छ ।

त्यस्तै, रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डंडेलधुरा, बाजुरा, बझाङ्ग, अछाम, दार्चुला, महेन्द्रनगर गरी ४२ जिल्लाका ४८ स्थानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सहुलियतपूर्ण स्टक रहेको छ । असोज २१ गतेदेखि सुरु भएकाे सहुलियत पसल  मंसिर ३ गतेसम्म चल्ने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ आश्विन २०८०, शनिबार  १८ : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।