टिकटक प्रतिभा देखाउने थलो हो, यसलाई बन्द गर्नु समस्याको समाधान होइन : मेयर बालेन


काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ुबालेनुले टिकटक प्रतिभा देखाउने थलो भएको बताएका छन् ।

मेयर बालेनले सामाजिक सञ्जालमा एक स्टाटस राख्दै टिकटक बन्द गर्ने कदम उचित नभएको बताएका हुन् । उनले सम्पूर्ण सामाजिक सञ्जाललाई बन्द गर्नुको विकल्प खोजेर त्यसलाई नियमनको दायरमा ल्याउन आवश्यक रहेको बताएका छन् ।

टिकटकले विकृत्ति मात्र नल्याएको र त्यसले धेरै नयाँ उद्यमीहरूलाई आफ्नो बजार प्रवर्द्धन गर्ने थलो र मौका नपाएका प्रतिभाहरूलाई आफ्नो प्रतिभा देखाउने ठूलो प्लेटफर्म समेत दिएको मेयर बालेनको भनाई छ ।

अहिले जस्तो टिकटक नै बन्द गर्ने निर्णय उचित नभएको उल्लेख गर्दै उनले बन्द समाधान नभएको बताएका छन् । ‘अब यो बन्दलाई टिकटक नियमन गर्नलाई दह्रो आधार बनोस् । मर्यादित भएर फेरि टिकटक चलाउन पाइयोस्,’ मेयर बालेनले भनेका छन् ।

केही समयअघिसम्म मेयर बालेनको नाममा थुप्रै नक्कली आईडी बनाएर उनी आफैं टिकटक लाइभ बसेको जस्तो देखाउने र मिथ्या सूचनाका साथै उनका शुभचिन्तकलाई ठग्ने कार्य समेत हुने गरेको थियो । आफूहरूले त्यस्ता फेक आईडी बन्द गर्न टिकटकलाई पटक पटक अनुरोध गर्नुका साथै साइबर ब्युरो र नेपाल दूरसञ्चार प्राधिकरण समेत गुहारेको विषय उनले आफ्नो पोस्टमा खुलाएका छन् ।

‘सबैले प्रयास गर्दा पनि टिकटकले यस्ता फेक आईडी हटाउने र मिथ्या सूचना रोक्ने कुरामा ध्यान नदिएको अवस्था थियो,’उनले भनेका छन्, ‘मेरो व्यक्तिगत रूपमा धेरै नै फेक आईडीले गर्दा शुभचिन्तकहरूले दुःख पाउनु भएको अवस्था थियो । तर यो भन्दैमा अहिलेजस्तो टिकटकलाई नै बन्द गर्नुपर्छ भन्ने होइन ।

सोमवार बसेको नेपाल सरकार मन्त्रिपरिषद्‌को बैठकले सामाजिक सद्भाव र सांस्कृतिक वातावरणमा खलल पुर्‍याएको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २८ कार्तिक २०८०, मंगलबार  १३ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।