भाइटीकाको दिन मौसम कस्तो रहला ?


भाइटीकाका दिन भोलि पश्चिमी वायुको सामान्य प्रभावले देशका केही स्थानमा आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार अहिले देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागको मौसम आंशिकदेखि सामान्यतया सफा छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

“आज र भोलि देशभरको मौसम सामान्यतया सफा रहने देखिन्छ । पहाडी भेगमा आंशिक बदली र कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । तिहारको भाइटीकाको दिन मौसम सामान्यतया सफा नै रहने देखिन्छ”, मौसमविद मानन्धरले भने ।

हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि वर्षा गराउने प्रणाली विकास गराउन नसक्ने मानन्धरको भनाइ छ । सङ्घीय राजधानी काठमाण्डांैमा अबको दुई दिन मौसम सामान्यतया सफा रहनेछ । उपत्यका आसपासका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ । तराई क्षेत्रमा मौसम सफा रहनेछ ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा भोलि कात्तिक २९ गते कोशी र मधेश प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको समभावना रहेको छ । रातिको समयमा पनि सोही किसिमको मौसमी प्रणाली कायम रहने महाशाखाले पूर्वानुमान गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २८ कार्तिक २०८०, मंगलबार  १७ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।