नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कुनै बैंक तथा वित्तीय संस्थाले धेरै ब्याज लिएको भए उजुरी गर्न आह्वान गरेका छन् ।
आर्थिक पत्रकार समाज सेजनको २७ औं वार्षिकोत्सवका अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उनले बाहिर हल्ला गरेर अराजकतालाई सहयोग गर्नुको साटो प्रमाणसहित उजुरी दिन उनले आह्वान गरेका हुन् । उनले बढी ब्याज लिएको प्रमाणित भए फिर्ता गराउने आश्वासन व्यक्त गरेका छन् । गत आर्थिक वर्ष बैंकहरुले लिएको ४ अर्ब ७६ करोड रुपैयाँ बढी ब्याज रकम फिर्ता गराएको अधिकारीले बताए ।
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा केही पर सर्नुमा थप डाटा पर्खिरहेको उनले बताए । अर्थमन्त्री र गर्भनर बीच सम्बन्धमा कुनै समस्या नरहेको उनले बताए। ‘बजेटमा भएको कुन बिषयमा राष्ट्र बैकले सहयोग गरेको छैन ?’ उनले भने ‘राष्ट्र बैंकले सरकारसँग समन्वयात्मक रुपमा काम गरिरहेको छ ।’
मौद्रिक नीतिको समीक्षा सार्वजनिक नहुँदा कुनै आकाश खसे जस्तो गर्न नहुने पनि बताएका छन् । राष्ट्र बैंकले अर्थतन्त्रमा उथलपुथल ल्याउन नसक्ने पनि उनको भनाई छ । यस्तै उनले पछिल्लो समय आर्थिक शिथिलताका कारण खराब कर्जा बढेको उल्लेख गर्दै गभर्नर अधिकारीले खराब कर्जा बढेकै कारण अहिले लाभांशमा कडाइ गर्नु परेको बताए । रिपेमेन्टका कारण केही व्यवसायीमा समस्या परेको उनले बताए ।
यस्तै उनले व्यवसायीले आफ्नो क्षमता अनुसार मात्रै कर्जा लिनुपर्ने बताएका छन्। पछिल्लो समय बैंकको कर्जा असुलीमा समस्या आइरहेको अवस्थामा गभर्नर अधिकारीले व्यवसायीलाई समयमा नै कर्जा तिर्न आग्रह गरेका हुन्।
“कर्जा लिएपछि तिर्नुपर्छ। अहिले सकिएन भन्न पाँइदैन,“ उनले भने।ऋण लिएपछि तिर्ने योजना पनि बनाउनु पर्ने भन्दै उनले भने ‘घाँटी हेरेर हाड निल्नु पर्छ नि १’अर्थतन्त्रमा उतारचढाव संसारभर आउने गरेकाले यसलाइ सबै मिलेर चिर्नुपर्ने उनको भनाइ छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया