जीराको मूल्य एक वर्षमा दोब्बर पुग्यो, आफूखुसी मूल्यवृद्धि गरेको उपभोक्ताको आरोप


पछिल्लो एक वर्षमा दैनिक उपभोग्य वस्तुको मूल्य ह्वातै बढेको पाइएको छ । अन्तर्राष्ट्रिय बजारमा नै सबै सामाग्रीको भाउ बढ्दा त्यसको प्रत्यक्ष असर नेपालमा परेको हो । एक वर्ष पहिले प्रतिकिलो ६०० रुपैयाँमा कारोबार भइरहेको जीराको अहिले प्रतिकिलो खुद्रा मूल्य १ हजार २ सय रुपैयाँ रहेको छ । जीराको मूल्य एक वर्षको अवधिमा ६०० रुपैयाँ बढेको छ । यो खुद्रा व्यापार संघको मूल्य हो ।

पछिल्लो समय जीराको अभाव देखाउँदै व्यापारीहरुले यसको मूल्य झनै बढाएर बेच्ने गरेको पाइएको छ । एक हप्ता अघि मात्रै किलोको १५ सय रुपैयाँ हालेर जीरा ल्याएको भक्तपुरकी उपभोत्ता सञ्चिता घेमसु बताउँछिन् । जीराको भाउ बढेको छ, चामल उस्तै छ , दिनदिनै भाउ बढ्छ, पसलपिच्छे भाउ हुन्छ उनले भनिन्, मैले ६ महिना पहिला जीरा किन्दा ५७५ थियो अहिले १५ सय पुगेछ ।’

नेपालमा उत्पादन हुने वस्तु पनि नेपालमा उत्पादन नगरिँदा भाउ बढेको उनको तर्क छ । यस्तै काठमाण्डौंमा बसेर पढ्दै रोजगारी गर्दै आएकी अर्की उपभोक्ता प्रकृती पौडेललाई मूल्य वृद्धिले धेरै असर गरिरहेको छ । जीरा उत्पादनलाई सरकारले प्राथमिकता दिने र उत्पादन गरिने हो भने यसरी हुने मूल्य वृद्धि अन्त्य गर्न सकिने उनी बताउँछिन् । सरकारले केही गर्ला मूल्य वृद्धि रोकिएला भन्ने त आश नै हराई सक्यो,’उनी भन्छिन्,’ जीरा मात्रै होइन चिनी, दाल, मैदा, चामलको पनि भाउ बढेको छ अब पनि सधैँ भारत भारत भन्दै बस्ने हो त ?’

नेपालमा भारत, कतार, टर्की, बेल्जियम लगायत देशबाट जीरा आयात हुने गरेको छ । यद्यपी नेपालमा सबैभन्दा धेरै जीरा भारतबाट नै आयात हुने गरेको छ । पछिल्लो समय भारतले जीरा निर्यातमा कम गरेसँगै यसको मूल्य अचाक्ली बढेको हो । भारतले आफ्नो देशमा उत्पादन कम भएको भन्दै अन्य देशमा गर्ने निर्यात कम गरेको हो ।

चालु आर्थिक वर्ष २०८०\८१ को चार महिनाको अवधिमा ९९ करोड ७० लाख बराबरको १९ लाख ४ हजार ७ सय ७ किलो जीरा आयात भएको छ । जसबापत १८ करोड ४३ लाख ८१ हजार रुपैयाँ बराबर राजस्व संकलन भएको छ । गत आवको तुलनामा चालु आवमा जीराको आयात १.५ गुणाले बढी छ ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा ६५ करोड ४६ लाख रुपैयाँ बराबरको २४ लाख ९ हजार ४ सय १० किलो जीरा आयात भएको थियो । जसवापत १२ करोड १० लाख ५२ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

चालु आवको चार महिनामा भारतबाट मात्रै ५९ करोड ९४ लाख रुपैयाँ बराबरको ११ लाख १ हजार ५८ किलो जीरा आयात भएको छ । गत आवको सोही अवधिमा भारतबाट ६५ करोड ४६ लाख बराबरको २४ लाख ९ हजार ३ सय ७३ किलो जीरा आयात भएको थियो।
भारतले निर्यात कम गरेसँगै अन्य देशबाट आयात गर्नुपरेको हुँदा जीराको भाउमा वृद्धि भएको वाणिज्य विभागका प्रवक्त्ता आनन्द राज पोखरोल बताउँछन् ।

गत वर्षको तुलनामा जीरामा मात्रै नभई अन्य वस्तुहरुको भाउमा पनि उल्लेख्य वृद्धि भएको छ । गत वर्षको मङ्सिरमा प्रतिकिलो ९५ रुपैयाँमा बिक्री भइरहेको त्रिशुली पोखरेली चामल  अहिले १०५ रुपैयाँ पुगेको छ । त्रिशुलीको पोखरेली चामल एक वर्षमा नै प्रतिकिलो १० रुपैयाँ वृद्धि भएको छ । जुन २५ केजीको १ बोरा चामलमा २ सय ५० रुपैयाँ वृद्धि हुनु हो ।

यस्तै हाल स्टिम जिरा मसिना चामल प्रतिकेजी ९५ रुपैयाँ पुगेको छ । गत मंसिरमा स्टिम जिरा मसिना चामलको मूल्य प्रतिकेजी ९० रुपैयाँ थियो । लङ्ग ग्रेन वासमति प्रतिकेजी मूल्य १७५ रुपैयाँ छ । गत वर्ष सोही चामलको मूल्य १ सय ५५ रुपैयाँ रहेको थियो ।

यस्तै गत वर्ष प्रतिकिलो १ सय ९० रुपैयाँमा पाइएको मासको दाल अहिले प्रतिकेजी २ सय २० रुपैयाँ पुगेको छ । एक वर्षको अन्तरालमा प्रतिकिलो मासको दाल ३० रुपैयाँ वृद्धि भएको हो । यता गत बर्ष १ सय ९५ रुपैयाँमा किनबेच भएको एनपी दालको मूल्य अहिले प्रतिकेजी ३ सय २० रुपैयाँ पुगेको छ । एक वर्षमा एनपी दालको मूल्य १ सय २५ रुपैयाँले बढेको छ ।

यस्तै खुदा व्यापार संघको मूल्य सूची अनुसार गत वर्षको तुलनामा अहिले प्रतिकेजी सानो केराउको मूल्य २५ रुपैयाँले बढेको छ । गत वर्ष प्रतिकेजी २ सय रुपैयाँ रहेको सानो केराउ अहिले २ सय २५ रुपैयाँ रहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा नै दैनिक उपभोग्य वस्तुहरुको मूल्य वृद्धि हुँदा नेपालमा त्यसले असर गरेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता पोखरेल बताउँछन् । अहिले समग्रमा मूल्यवृद्धि भइरहेको छ,‘प्रवक्ता पोखरेल भने, मूल्य वृद्धि हुनुमा नेपालको केही हात छैन उतैबाट बढेर आएको हो ।’ फ्युलको मूल्य , वस्तु ल्याउदा लाग्ने कर बढेकोले पनि मूल्य वृद्धि भएको उनको भनाइ छ । पोखरेलले भने,‘ फ्युल, कर अनि प्रत्येक २–२ वर्षमा लाग्ने कर, यसदे पनि मूल्य बढ्नलाई सहयोग पुगेको उनी बताउँछन् ।

अहिले अन्तर्राष्ट्रिय रूपमै मूल्यवृद्धि भएकाले नेपालमा पनि मूल्यवृद्धि हुनु स्वाभाविक भएको उनको भनाइ छ । कतिपय सामान ल्याउँदा नष्ट हुने किसिमको हुन्छ यस्तोमा व्यापारी आफैँले मूल्य वृद्धि गर्ने गरेको पाएका छौँ,’ उनले भने,’ ‘अनुगमन गर्दा यस्तो पाइएमा कारबाही गर्दै आएका छौँ ।’

यता, व्यापारीहरुको दादागिरीले वस्तुको मूल्य बढेको उपभोक्ता हित संरक्षण मञ्च नेपालका अध्यक्ष प्रेम लाल महर्जन बताउँछन् । व्यवसायीले उपभोक्ता हित संरक्षण ऐन, २०७५ ले तोकेको परिधिभित्र रहेर व्यवसाय गर्नुपर्ने उनको भनाइ छ । उनले अनुगमनकारी निकाय (वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग) को अकर्मणता कारण मूल्य वृद्धि भएको बताए । उक्त विभागले मूल्यवृद्धिका विषयमा अध्ययन गरेर कानुनी कारबाही नगर्दा व्यवसायीहरूले आफूखुसी ढङ्गले मूल्यवृद्धि गरेको महर्जनले बताए ।

‘वाणिज्य विभागले स्थानिय सरकारलाई नै मूल्य वृद्धि नियन्त्रण गर्न भनेको छ तर स्थानिय सरकारले वेवास्ता गर्छ,’ उनले भने, ‘मूल्य वृद्धिको विषयमा तीन वटा सरकारको समन्वय नै भएको छैन । ’ नेपालमा प्रयोग हुने अधिकांश खाद्यान्नमा अझै विदेशकै भर पर्नुपर्ने भएकोले पनि मूल्य वृद्धि भएको उनको भनाई छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २१ मंसिर २०८०, बिहिबार  ०६ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।