सर्वोत्तम सिमेन्टको आईपीओ ५५ हजार ५२१ जना आवेदकले पाए


सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँड भएको छ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन नियमावली अनुसार गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँड गरेको हो।

कुल ९ लाख ६० हजार ३०१ जनाले ५ करोड ६ लाख १३ हजार ३६० कित्ता शेयरका लागि आवेदन परेको थियो । जसमध्ये ९ लाख ५८ हजार ९५९ आवेदन स्वीकृत भएको छ भने १ हजार ३४२ आवेदन रद्द भएको छ ।

यसमा गोलाप्रथामार्फत ५५ हजार ५२१ जनाले सेयर हात पारेका छन् । जसमध्ये २६ जनाले ५१ कित्ता र बाँकीले ५० कित्ताका दरले सेयर पाएका हुन् ।

कम्पनीले बिल्डिङ विधिअनुसार मूल्य तय भई प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले फागुन १३ देखि १६ गतेसम्म सर्वसाधारणलाई आईपीओ खुला गरेको थियो । सर्वोत्तम सिमेन्टले फागुन १३ देखि १६ गतेसम्म सर्वसाधारणमा स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरेको अवितरित ६ लाख ८१ हजार ५३० कित्ता सहित कुल २७ लाख ७६ हजार ७६ कित्ता आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । लगानीकर्ताले न्यूनतम ५० कित्ताका लागि १८ हजार ४५ रुपैयाँदेखि अधिकतम १० हजार कित्ताका लागि ३६ लाख ९ हजार रुपैयाँसम्मका लागि आवेदन दिन पाउने व्यवस्था थियो ।

इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी प्रदान गरेको छ । यसले समयमा नै सुरक्षित रुपले वित्तीय दायित्व बहन गर्न मध्यम स्तरको क्षमता रहेको कम्पनी हो भन्ने बुझिन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।