सर्वसाधारणलाई झुक्याउने रिलायन्स स्पिनिङ मिल्सको आईपीओ रद्द

0
Shares

नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्सको आईपीओ रद्द गरेको छ । रिलायन्स स्पिनिङ मिल्सले बिहीबारबाट नै पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ निष्कासन गर्ने तयारी गरेको थियो ।

बोर्डका अध्यक्ष नरेन्द्रकुमार रानाको निर्णयअनुसार अर्को सूचना नआएसम्म सर्वसाधारणलाई जारी हुन लागेको आईपीओ रोकिएको हो । तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरणमा कैफियत देखिएपछि रिलायन्स स्पिनिङ आईपीओ रद्द गर्न बोर्डलाई दबाब परेको थियो ।

रिलायन्सको सेयर निष्कासन सम्बन्धमा सार्वजनिक लेखा समितिले नेपाल धितोपत्र बोर्डलाई पत्र मंगलबार पत्र काटेको थियो। लेखा समितिले एक साताको समय दिएर धितोपत्र बोर्डसँग रिलायन्स स्पिनिङ मिल्सको आईपीओ सम्बन्धमा प्रष्टिकरण माग गरेको थियो ।

केही लगानीकर्ताहरुले समेत स्पिनिङ मिल्सको आईपीओ रद्द गर्न बोर्डलाई आग्रह गरेका थिए । लगानीकर्ताका चार संस्थाले कम्पनीले पेश गरेको वित्तीय विवरण बढाइचढाइ गरेको र भविष्यमा कम्पनीले आम्दानी गर्ने रकम असम्भवप्रायः पूर्व अनुमान गरिएकाले यस कम्पनीको प्राथमिक शेयर निष्कासन रद्द गरी आवश्यक छानबिन गर्न माग सहित धितोपत्र बोर्डमा निवेदन दिएका थिए। नेपाल शेयरधनी संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ, जनरल इन्भेस्टर एशोसिएशन र साधारण लगानीकर्ता संघले यस्तो माग गरेका थिए।

सर्वसाधारणलाई झुक्याएर वित्तीय विवरण प्रकाशन गरी महङ्गो मूल्यमा बुक बिल्डिङ्गबाट प्राथमिक सेयर निष्कासन गर्न लागेपछि कम्पनीको आईपीओ विवादमा परेको हो ।

रिलायन्सले आफ्नो वित्तीय विवरणमा गत वर्ष प्रति सेयर आम्दानी ५४ रुपैयाँ ३४ पैसा रहेको उल्लेख गरेकोमा अहिले एक वर्ष नपुग्दै उक्त आम्दानी २ रुपैयाँ ८ पैसामा झरेको तेस्रो त्रैमासिक विवरण सार्वजनिक गरेको थियो । कम्पनीको तर्फबाट संस्थागत र सर्वसाधारण लगानीकर्तालाई जारी गरिएको आह्वान पत्रमा वित्तीय विवरणको प्रक्षेपण आव २०७९।८० मा ५४.३४ रुपैयाँ र आव २०८०।८१ मा ३२.९० पैसा रहेकोे उल्लेख गरेकोमा चैत मसान्तसम्म २.०८ मात्र देखिएको हुँदा प्रक्षेपण र वास्तविकतामा सामञ्यस्यता नदेखिएको भन्दै के भएको हो त्यसका सम्बन्धमा पनि प्रश्न उठाइएको थियो ।

रिलायन्सले नेपाल विद्युत् प्राधिकरणलाई बुझाउन बाँकी रहेको विद्युत् महसूलको बक्यौता रकम ७३ करोड ४७ लाख रुपैयाँलाई पनि दायित्वका रूपमा हिसाबमा देखाएको छैन। लोडशेडिङको अवधिको यस रकमका विषयमा लामो समयदेखि विवाद चलिरहेको छ। यसबारेको मुद्दा अदालतमा विचाराधीन छ।

नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्सलाई प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरमा सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) बिक्री गर्न अनुमति दिएको थियो। यसअघि कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई प्रतिस्पर्धा मार्फत कट अफ मूल्य प्रतिकित्ता ९१२ रुपैयाँ सेयर बिक्री गरेको छ । यही मूल्यका आधारमा सर्वसाधारणलाई बिक्री गरिने सेयरको मूल्य सोभन्दा १० प्रतिशत घटाएर तोकिएको थियो।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।