सडक कालोपत्र हुने भएपछि तमोर करिडोरमा नयाँ होटल खुल्न थाले


तमोर करिडोरअन्तर्गत धनकुटाको मुलघाटबाट पाँचथरसम्मको सडक कालोपत्र हुने भएपछि अहिले यस क्षेत्रमा धमाधम होटल सञ्चालनमा आउन थालेका छन् ।

सुनसरीको चतराबाट धनकुटा हुँदै पाँचथरसम्मको एक सय ५५ किलोमिटर तमोर करिडोर आयोजनाअन्तर्गत धनकुटाको मूलघाटबाट पाँचथरसम्मको एक सय १२ किमी सडक गत वर्षदेखि कालोपत्र हुने चरणमा छ । भारतको जोगवनीबाट पूर्वी नेपाललाई चीनको ओलाङ्चुङसँग जोड्ने यस करिडोर भएर दैनिक पूर्वी तराईलाई र पहाडका जिल्ला आवतजावत गर्न साना–ठूला सवारी साधन चल्ने गरेका छन् ।

करिडोरमा यातायातको चहलपहल बढेपछि अहिले धनकुटाको साँगुरी गाउँपालिका र चौबिसे गाउँपालिकामा पर्ने २८ किलोमिटर करिडोर सडक किनारमा होटल सञ्चालन गर्ने क्रम बढेको हो । पच्चीस वर्षअघि शिक्षा र अवसरका लागि धनकुटा सदरमुकाम आएका चौबिसे गाउँपालिका–३ का केशर लिम्बू अहिले आफ्नै ठाउँमा होटल गर्न फर्किएका छन् । उनले चौबिसे–४ फलामेटारमा यही महिनादेखि त्रिवेणी होटल सञ्चालन गरेका हुन् ।

दश वर्षका लागि जमिन र घरभाडामा लिएर २५ लाख रुपैयाँको लागतमा होटल र लज सेवा सुरु गरेको लिम्बूले जानकारी दिए । हाल कच्ची सडक भएको अवस्थामा करिडोरबाट दुई सयभन्दा बढी साना–ठूला सवारी साधन आवतजावत गरिरहेका छन् । “हाल यस क्षेत्रमा दिन प्रतिदिन होटल थपिने क्रम बढेको छ”, उनले भने ।

यस्तै करिडोरको व्यापारिक सम्भावनालाई देखेर सोही स्थानमा जोरपाटी गाउँपालिका–४ का हरि ओझाले घरभाडामा लिएर सात लाख रुपैयाँ लागतमा होटल सञ्चालन गरिरहेका छन् । उनले दैनिक १५ हजार रुपैयाँदेखि ३० हजार रुपैयाँसम्म व्यापार गरिरहेका छन् । करिडोर कालोपत्र हुने भएपछि अहिले उक्त क्षेत्रमा होटलको सङ्ख्यामा वृद्धि भइरहेको उनले जानकारी दिए ।

चौबिसे–४ सदमटारकी ४३ वर्षीया सुस्मिता लिम्बू (राउत)ले पनि होटल सञ्चालन गर्नका लागि २० लाख रुपैयाँ खर्चेर पक्की घर बनाएकी छन् । कृषि पेसामा आबद्ध उनले सडक कालोपत्र भएपछि सानोतिनो होटल व्यवसाय सञ्चालन गर्ने मनस्थिति बनाएकी छन् ।

त्यस्तै साँगुरीगढी गाउँपालिका–१ का जीवन देवानले पनि धरान–धनकुटा कोशी राजमार्गको मुलघाटस्थित पाँचथर जाने करिडोर प्रवेशद्वार लाबरबोटेमा होटल व्यवशाय थालेका छन् । निर्माण व्यवसायी राईले यात्रु तथा यातायात व्यवसायीको सुझावमा आफ्नो दाजुसँगको सहकार्यमा यही माघदेखि १० लाख रुपैयाँको लागतमा होटल व्यवशाय सुरु गरेका हुन् । रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २५ माघ २०८०, बिहिबार  १२ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।