सजिलो डिजिटल नम्बर प्लेट प्रणाली ‘कताहो’ सुरु


नेपालभित्रको जुनसुकै ठाउँको ठेगाना प्लेट पाँच मिनेटमै तयार गर्न सकिने मोबाइल एप र वेबमा आधारित डिटिजल ठेगाना प्लेट प्रणाली ‘कताहो’ सञ्चालनमा आएको छ ।

पाँच वर्षको अनुसन्धानपछि विकास भएको ‘कताहो’ ठेगाना प्रणालीमा नेपाल सरकार, सहरी विकास मन्त्रालयले हालसम्म तयार गरेका घर नम्बर पनि समावेश गर्न सकिने जनाइएको छ । काठमाडौँमा बुधबार सुरु भएको क्यान इन्फोटेकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘कताहो’ को औपचारिक उद्घाटन गरेकी हुन् ।

देशको सम्पूर्ण भूभागलाई १५ अर्ब २ करोड हाराहारी प्लट (टुक्रा) मा विभाजन गरी हरेक प्लट (टुक्रा) का लागि शब्द र अंक मिलाएर एउटा युनिक नाम दिई यो प्रणाली तयार गरिएको राम र लक्ष्मण रिमालले बताए । उनीहरूका अनुसार ‘कताहो’ को सहायताले नेपालको जुनसुकै ठाउँ पत्ता लगाएर तत्काल पुग्न सकिन्छ । राम र लक्ष्मण ग्रुप संलग्न रहेको एड्रेसग्राफ प्रालिले यो प्रणाली विकास गरेको हो ।

डिजिटल ठेगाना प्रणालीमा सामुदायिक रूपमा टोल विकास तथा समितिबाट राखिएका घरका नम्बर समेत राख्न सकिन्छ । यसको लक्ष्य दूरदराजमा रहेका पालिकाका घर, गोठ, टहरा, सीमाचिह्न, प्राकृतिक सम्पदा जस्ता हरेक स्थानको नम्बर तयार गर्नु रहेको रिमालद्वयको भनाई छ ।

यो प्रणालीमा विश्वस्तरीय ठेगानाको प्लस कोड तथा घरमा टाँसिने नम्बर प्लेटबाटै घन्टी बजाउन पनि सकिन्छ । ‘कताहो’ एपमार्फत सर्वसाधारणले आफ्नो घरको ‘ठेगाना प्लेट’ निःशुल्क तयार गरी प्रिन्ट गराउन सक्ने उनीहरूले जनाएका छन् । यसको प्रयोगले ठेगानासँग सम्बन्धित अधिकांश समस्या समाधान हुने एड्रेसग्राफको भनाइ छ । ‘यसले देशका हरेक ठाउँको डिजिटल ठेगाना दिन्छ । उक्त ठेगाना मोबाइलमार्फत् शेयर गर्न, बोलेर एक अर्कामा पुर्याउन एकदमै उपयोगी र प्रभावकारी छ,’ एड्रेसग्राफ प्रालिले बुधबार साँझ जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २६ माघ २०८०, शुक्रबार  ०८ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।