नेपाल बीमा प्राधिकरणबाट नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान)सँगको समन्वयमा आयोजित बीमा क्षेत्रमा नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) कार्यान्वयन सम्बन्धी छलफल एवम् अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।
अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन मान बमोजिम नेपालको बीमा क्षेत्रमा नेपाल वित्तीय प्रतिवेदन मान कार्यान्वयनका लागि भएका तयारी, आउनसक्ने समस्या र समाधानका उपाय लगायतका विषयमा छलफल गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नेपाल वित्तीय प्रतिवेदन मान लागू गर्ने प्रतिवद्धता बीमा कम्पनीहरूले व्यक्त गरेको उल्लेख गर्दै समस्या पहिचान गरी आआफ्नो भूमिका बर्गीकरण गरी अघि बढेमा नेपाल वित्तीय प्रतिवेदन मान कार्यान्वयन गर्न सकिने बताए ।
अध्यक्ष सिलवालले भने,‘नेपाली बीमा बजारको विश्वसनीयता बढाउनका लागि पनि अन्तर्राष्टिय मापदण्ड अनुसार अगाडि बढ्नुर्छ, नेपाल वित्तीय प्रतिवेदन मान कार्यान्वयनको तयारीका लागि समय दिइएको छ, अब कुनै व्दिविधा नराखी तोकिएको समयमैं कार्यान्वयनमा जानुपर्छ ।’
नेपाल वित्तीय प्रतिवेदन मान कार्यान्वयनमा बीमकहरूलाई सहजीकरण गर्न प्राधिकरण तयार रहेको उल्ल्ेख गर्नुहुँदै अध्यक्ष सिलवालले भने, ‘नेपाल वित्तीय प्रतिवेदन मानको कार्यान्वयनमा आउने समस्या क्रमिकरूपले समाधान गर्दै जानुपर्छ, क्षमता अभिवृद्धि गर्नुपर्छ, बीमकहरूले लगानीकर्तालाई बुझाउनुपर्छ, एक्च्युरीको अभाव परिपूर्ति गर्न देशका विश्वविद्यालयमा एक्च्युरी विज्ञान अध्ययनको व्यवस्था मिलाउन सम्बद्ध सबैले पहल गर्नुपर्छ ।’
.jpg)
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था आइक्यानका अध्यक्ष सुजन कुमार काफ्लेले नेपाल वित्तीय प्रतिवेदन मान कार्यान्वयनका लागि बीमा क्षेत्रमा स्रोत विकास र प्राविधिक क्षमता अभिवृद्धिका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
लेखापरीक्षणमान बोर्डका अध्यक्ष अनुप कुमार श्रेष्ठले बीमा क्षेत्रबाट गुणस्तरीय सेवा प्रवाह र गुणस्तरीय प्रतिवेदन तयार गर्नका लागि लेखापरीक्षण सम्बन्धी क्षमता अभिवृद्धिको आवश्यकता औंल्याए । लेखामान बोर्डका अध्यक्ष प्रकाशजंग थापाले तोकिएको समयमा नेपाल वित्तीय प्रतिवेदन मान कार्यान्वयनका क्रममा आइपर्ने बाधा व्यवधानको समाधानका लागि प्राविधिक सहयोग गर्न बोर्ड तयार रहेको बताए ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले प्राधिकरणले बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशन जारी गरी बीमकको वित्तीय विवरण नेपाल वित्तीय प्रतिवेदन मान बमोजिम हुनुपर्ने व्यवस्था गरेको र सोही बमोजिम बीमकहरूबाट वित्तीय विवरण तयार भई प्राधिकरणमा पेश हुँदै आएको जानकारी दिए । कार्यक्रममा नेपाल बीमक सङ्घका अध्यक्ष चंकी क्षेत्री र नेपाल जीवन बीमक सङ्घका अध्यक्ष पोषक राज पौडेलले बीमा क्षेत्र नेपाल वित्तीय प्रतिवेदन मान कार्यान्वयन गर्न तयार रहेको बताए ।
कार्यक्रममा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था, लेखामान बोर्ड र लेखापरीक्षणमान बोर्डका पदाधिकारी, नेपाल बीमा प्राधिकरणका निर्देशक, बीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा लेखाप्रमुख र लेखापरीक्षकहरू लगायतको सहभागिता रहेको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया