भाषा र संस्कृतिमार्फत विश्वका नेपालीलाई जोड्न प्रधानमन्त्रीको आग्रह


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वका विभिन्न मुलुकमा रहेका नेपालीभाषी र नेपाली मूलका नागरिकलाई आफूले आर्जन गरेको सीप, ज्ञान र पुँजी मातृ तथा पितृभूमि नेपालका लागि खर्च गर्न आग्रह गरेका छन् ।

एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) का प्रतिनिधिमण्डलसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहालले राष्ट्रियता फरक भए पनि मातृ तथा पितृभूमि एउटै भएका कारण सबैलाई जोड्ने अभियान सकारात्मक रहेको भन्दै यस अभियानमार्फत विश्वका नेपालीभाषीलाई जोड्न आग्रह गरेका हुन् ।

प्रधानमन्त्री दाहालले भाषा र संस्कृतिका माध्यमबाट विश्वभर छरिएर रहेका नेपालीलाई जोड्ने एएनओको अभियान सकारात्मक रहेको उल्लेख गर्दै सो अभियानका लागि नेपाल सरकारका तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

विश्वका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीभाषीको गत चैत ६ मा थाइल्याण्डको राजधानी बैंककमा भएको भेलाले नेपाली जातिलाई एकीकृत गरी नेपाली भाषा र संस्कृतिको संरक्षण गर्न एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) गठन गरेको थियो । प्रधानमन्त्री दाहालले कला र संस्कृतिमार्फत नेपालीभाषीलाई जोड्ने अभियान सञ्चालन गरेकामा धन्यवाद दिँदै नयाँ अभियानका लागि शुभेच्छा प्रकट गरे ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३० चैत्र २०८०, शुक्रबार  १३ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।