कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने बताएका छन् । त्रिधार्मिकस्थल हलेसीमा शनिबार हवनकुण्ड शिलान्यास गरेपछि उनले प्रदेशका तीन धार्मिकस्थललाई जोड्ने योजनालाई प्रदेश सरकारले प्राथमिकतामा राखेको जानकारी दिए ।
मुख्यमन्त्री कार्कीले हलेसी, सुनसरीको बराहक्षेत्र र ताप्लेजुङको पाथीभरालाई जोड्नुपर्ने बताउँदै केबुलकार र जल यातायातका माध्यमबाट त्यसो गर्न सकिन्छ भने। उनले पर्यटन पूर्वाधार निर्माणका आधारभूत संरचना निर्माण गर्न वडा र पालिका अग्रसर हुनुपर्ने बताए ।
कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०\८१ मा विनियोजन गरेको एक करोड ४४ लाख ८४ हजार चार सय ९० रुपैयाँ लगानीमा हलेसीमा हवन कुण्ड बन्दैछ । आगामी असार १६ गतेसम्ममा सम्पन्न गर्नेगरी काम सुरु भएको हो ।
शिलान्यासपछि खोटाङ प्रदेशसभा (१) का सदस्य पाँचकर्ण राईले हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसी क्षेत्रको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राईले भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको बताए ।
हलेसी आउने दर्शनार्थीको सुविधाका निम्ति मन्दिर परिसरमा नेपाल आयल निगम र हलेसी तुवाचुङ नगरपालिकाको लगानीमा अतिथिगृह निर्माणाधीन छ । निगमबाट दुई करोड रुपैयाँ प्राप्त भएपछि नगरपालिकाले आव २०७९र८० मा दुई करोड ९६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । रासस
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया