नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले सूचिकृत कम्पनीको अन्तिम मूल्य निर्धारण गर्ने व्यवस्था गर्ने भएको छ । नेप्सेले कारोबारको अन्तिम समयमा सेयर मूल्य घटाउने/बढाउने स्तरवृद्धि रोकि क्लोजिङ प्राइस निर्धारणलाई व्यवस्थित गर्न लागेको हो ।
नेप्सेले कुनै पनि कम्पनीको हरेक दिनको अन्तिम कारोबार मूल्यलाई नै ‘क्लोजिङ प्राइस’ कायम गर्दै आएकोमा त्यसलाई परिवर्तन गर्ने तयारी गरेको हो । नेप्सेले धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ लाई संशोधन गर्ने निर्णय गर्दै कारोबार समयमा अन्तिम १५ मिनेटमा खरिद बिक्री भएको सेयर मूल्यको औसतलाई अन्तिम मूल्य कायम गर्ने व्यवस्था गर्न लागिएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलील बताए ।
“२:४५ बजेदेखि ३ बजेसम्मको १५ मिनेट अवधिको कारोबारको भारीत औसत निकालेर अन्तिम मूल्य कायम गर्न खोजेको हो,” उनले भने,“त्यसका लागि नेप्सेको सञ्चालक समितिले कारोबार विनियमावली संशोधनको निर्णय गरिसकेको छ ।” नेप्से सञ्चालक समितिले निर्णय गरेको संशोधित नियमावली स्वीकृतिका लागि धितोपत्र बोर्डमा पठाइएको उनले बताए । नेप्से सञ्चालक समितिले सोमबार निर्णय गरेको पराजुलीले बताए ।
यो ब्यबस्था कार्यान्वनमा आएपछी कारोबारको अन्तिम समयमा १० कित्ताका दरले सेयर किनबेच गरेर मुल्य बढाउने र घटाउने अभ्यासको अन्त्य हुन्छ । त्यसका साथै भोलिपल्टको ओपनिङ मूल्य उच्च कायम गर्ने अवस्थाको पनि अन्त्य हुने उनको भनाइ छ । “भोलिपल्टको सुरुवाती कारोबारका लागि धेरै मूल्य कायम गराउने र बढ्यो भनेर देखाउने अभ्यासलाई यसले नियन्त्रण गर्नेछ,” उनले भने । यसभन्दा अघि अन्तिम मूल्यको सन्दर्भमा कानुनी व्यवस्था थिएन । त्यसैले पनि कारोबारीहरुले यसको गलत प्रयोग गर्दै आउको हुनाले व्यवस्थित गरिएको हुन सक्छ ।
विनियमावली अनुसार प्रारम्भिक कारोबार सत्रमा मूल्य प्रविष्ट गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको पाँच प्रतिशत घटी वा बढी मूल्य सीमाभित्र रही गर्नु पर्छ । निरन्तर कारोबार सत्रमा कायम भएको मूल्यको दुई प्रतिशत घटी वा बढी मूल्य सीमाभित्र रही आदेश प्रविष्टि गर्नुपर्ने हुन्छ ।
प्रारम्भिक कारोबार सत्रमा कारोबार नभएका धितोपत्रको कारोबारका लागि मूल्य प्रविष्टि गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको दुई प्रतिशत घटी वा बढी मूल्य सीमाभित्र रही आदेश प्रविष्टि गर्नु पर्ने व्यवस्था नियमावलीमा छ । कुनै धितोपत्रको कारोबार लगातार पन्ध्र दिनसम्म नभएमा त्यस पछि हुने पहिलो कारोबारका लागि नेप्सेले मूल्य परिवर्तनको सीमालाई खुल्ला गर्न सक्नेछ ।












प्रतिक्रिया