काठमाडौँ । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) मा आजसम्म मात्र आवेदन दिन पाइने छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई, कम्पनीका कर्मचारीहरु र सामूहिक लगानी कोषहरुलाई निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपश्चात सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गरेको थियो ।
१८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशनग रिएकोसेयरमा आज कार्यालय समयसम्म मात्र आवेदन दिन सकिने छ ।
कम्पनीले जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाडफाँड गरिसकेको छ भने कर्मचारीहरुका लागि ६७ हजार ५०० कित्ता र सामूहिक लगानी कोषहरुलाई १ लाख १२ हजार ५०० कित्ता शेयर निष्काशन गरेको थियो ।
उक्त अवधिभित्र सबै कित्ता बिक्री नभएमा भने निष्काशन अवधि फागुन २५ गतेसम्म लम्बिनेछ। कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सकिने छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ।
हालसम्म कति पर्यो आवेदन ?
नेपाल माइक्रो इन्स्योरेन्सको आइपिओमा बुधबार साँझ ५ बजेसम्म १५ लाख ७२ हजार ५८८ जनाले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङका अनुसार कम्पनीको आइपिओमा बुधबारसम्म दुई अर्ब चार करोड एक लाख ९२ हजार रूपैयाँ बराबरको दुई करोड चार लाख एक हजार ९२० कित्ताको लागि आवेदन परेको हो ।










प्रतिक्रिया