विद्युत आपूर्ती नियमित नहुँदा उद्योग, कलकारखाना समस्यामा परे: उद्योगी


नेपाल विद्युत प्राधिकरणले विद्युत आपूर्ती सहज नबनाउँदा उद्योग, कलकारखाना समस्यामा परेको भन्दै उद्योगी व्यवसायीले चिन्ता व्यक्त गरेका छन् । विशेष गरी विद्युत आपूर्ती नियमित नहुँदा सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगहरू प्रभावित भएको भन्दै मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले समस्या भएको बताएका हुन् । घोषित रूपमा लोडसेडिङ नभए पनि दिनमै पटक विद्युत आपूर्ती अवरुद्ध हुँदा उद्योग सञ्चालनमा समस्या भएको उनको भनाई छ ।

विद्युत नियमित रुपमा नपाउँदा उद्योग सञ्चालनको वातावरण नै अस्तव्यस्त बनेको उनको गुनासो छ । “औद्योगिक क्षेत्रमा नियमित बिजुली आपूर्ति नहुँदा उत्पादन र आपूर्ति चक्र प्रभावित भएको छ,” राठीले भने, “यही अवस्था चलिरहने हो भने उद्योगका कलपुर्जा र उपकरण बिग्रिएर उद्योग धरासायी हुनेछन् ।”

पूर्वसूचना बिना बिजुली पटक पटक अवरुद्ध हुने गरेकाले कतिपय उद्योगका पार्टपूर्जा र उपकरणहरुमा क्षति पुग्ने गरेको उनको गुनासो छ । यही कारण धेरै उद्योगले आफ्नो उत्पादन कटौती गर्नुपर्ने अवस्था उत्पन्न भएको बताएका उनले यसको असर उपभोक्ता र उद्योग क्षेत्रमा काम गर्ने श्रमिकहरुमा पनि पर्ने बताए । “पर्याप्त बिजुली नआएर उत्पादन प्रभावित हुँदा बजारमा वस्तुको अभाव हुने, मूल्यवृद्धि हुने र चोरी पैठारी बढ्न सक्ने भएकाले यसतर्फ ध्यान दिन प्राधिकरण र मन्त्रालयको ध्यानाकर्षण गराउँछु,” राठीले भने ।

सुनसरी मोरङ औद्योगिक करिडोरमा कटहरी, बुढीगंगा र दुहबी करिडोर पर्छन् । ती क्षेत्रमा फरक फरक फिडरबाट विद्युत वितरण हुँदै आएको छ । विद्युत अपूर्ती अमियमित हुँदा फलाम, सिमेन्ट, रिलायन्स, जुट र प्लाष्टिक उद्योग सबैभन्दा बढी प्रभावित भएको उनको भनाई छ ।

आकस्मिक रुपमा बिजुली आउने र जाने गर्दा उद्योगको पाटपुर्जा बिग्रनेदेखि कच्चा पदार्थ खेर जानेसम्मको समस्या देखिन थालेको उनको भनाई छ । करिडोरमा पशुपति, हुलास, मैनावत्ती, आरती, प्रिमियर, स्वस्तिक, रिलायन्ससहित आधा दर्जनभन्दा बढी ठूला फलाम उद्योग छन् । अहिले सबै उद्योगहरु विद्युत आपूर्ती नियमित नहुँदा विभिन्न किसिमका समस्यामा परेको उनको गुनासो छ ।

“औद्योगिक करिडोरमा एकै दिन ६२ पटकसम्म ‘ट्रिपिङ’ हुने गरेको अध्ययनले देखाएको छ । ३३ केभी दुहबी, ११ केभी तरहरा, ११ केभी जुडी, ३३ केभी रघुपति जुटमिल्स र ११ केभी रानी क्षेत्रमा १५ दिन अध्ययन गर्दा एक दिनमा ६२ पटक सम्म ‘ट्रिपिङ’ भएको पाइयो,” राठीले भने, “यस्तो अवस्थामा उद्योग कसरी चलाउने ?”

निजी क्षेत्रले यो समस्याबारे नेपाल विद्युत प्राधिकरणको ध्यानाकर्षण गराउँदै आएको छ । ऊर्जामन्त्री दीपक खड्काको समेत ध्यानाकर्षण गराइएको बताएका उनले समस्या समाधानका लागि हुनै चासो नदिइएको बताए ।

यता उर्जामन्त्री खड्काले पनि आयात भएको र उत्पादित विद्युतको तुलनामा माग धेरै भएका कारण आम उपभोक्ताको घरमा नै लाडसेडिङ हुने अवस्था आउन लागेको बताएका छन् । यस अघि नै लोडसेडिङ अन्त्य भएको घोषणा गरिएको भए पनि हाल अवस्था असहज भएको र माग अनुसार विद्युत नभएकाले उद्योगहरुमा अघोषित लोडसेडिङ भईरहेको उनले बुधबार राष्ट्रिय सभामा बताएका थिए ।

प्रकाशित मिति: ६ चैत्र २०८१, बुधबार  १९ : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।