रिलायन्स स्पिनिङ मिल्सलाई आईपीओ निष्काशनको बाटो खुला, आइपीओ रोक्न दिइएको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश


काठमाडौँ । पाटन उच्च अदालतले रिलायन्स स्पिनिङ मिल्सको आईपीओ जारी प्रक्रिया रोक्ने पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ गत वर्षको असारदेखि रोकिएको थियो । बिहीबार आईपीओ जारी गर्ने प्रक्रिया अघि बढाउन पाटनले अन्तरिम आदेश जारी गरेको हो ।

नेपाल धितोपत्र बोर्ड अध्यक्षविहीन भएको अवस्थामा तत्कालीन अध्यक्ष नरेन्द्रकुमार रानाले असार तेश्रो साता (असार २६ गते) विवादास्पद भएको भन्दै रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङबाट निश्कासन गर्न लागेको आईपीओको प्रक्रिया रोक्ने निर्णय गरेका थिए ।

अध्यक्षको निर्णयअनुसार बोर्डले बिक्री प्रबन्धकलाई पत्र लेख्दै अर्को निर्णय नभएसम्मका लागि रिलायन्सको शेयर निष्काशन रोक्न निर्देशन दिएको थियो ।

धितोपत्र बोर्डको निर्णय र बिक्री प्रबन्धकलाई लेखेको पत्र विपरित रिलायन्सले गत बैशाख ११ गतेउच्च अदालत पाटनमा रिट दायर गरेको थियो ।

तर, बिहीबार रिलायन्स स्पिनिङ मिल्सले धितोपत्र बोर्डलगायतलाई विपक्षी बनाएर हालेको रिटमा उच्च अदालत पाटनका न्यायाधीशद्वय मुनेन्द्र प्रसाद अवस्थी र टिकाराम आचार्यको संयुक्त इजलासले अन्तरिम आदेश दिएको हो।

धितोपत्र बोर्डले ग्लोबल आईएमई क्यापिटललाई रिलायन्सको आईपीओ रोक्न भनी दिएको निर्देशन र गरेको पत्राचारमा आधार, कारण र कानूनले प्रदान गरेको अख्तियारी सम्बन्धमा केही उल्लेख भएको नदेखिएको आदेशमा भनिएको छ ।

आदेशमा भनेको छ–‘सेयर निश्कासनको सम्पूर्ण प्रक्रिया पूरा गरी दिएको स्वीकृतिलाई आधार, कारण र कानूनको उल्लेख नगरी जारी भएको विपक्षी नेपाल धितोपत्र बोर्डको चं नं. ३५११ मिति २०८१ ०३ २६ को पत्र प्रथम दृष्टिमा नै कानूनसम्म नदेखिँदा प्रस्तुत मुद्दाको टुंगो नलागेसम्म उक्त पत्र कार्यान्वयन नगर्नु नगराउनू, उक्त पत्र तथा सोसम्बन्धी भए गरेका कार्यहरु यथास्थितिमा राख्नू ।’

रिलायन्सले बुक बिल्डिङबाट जारी भएको आईपीओ दोस्रो चरणमा वैदेशिक रोजगारीमा जानेका लागि गत वर्ष असार २७ गतेदेखि आवेदन खुल्ने तयारी थियो। सोही बीचमा बोर्डले शेयर निष्काशकलाई पत्र लेखेर आईपीओ रोकेको थियो ।

आदेशसँगै अब रिलायन्सले बुक बिल्डिङ विधिबाट आईपीओ निश्कासनका लागि बाँकी रहेका प्रक्रियाहरु अगाडि बढाउने बाटो खुलेको छ ।

कम्पनीले यसअघि बुक बिल्डिङ विधिबाट योग्य संस्थागत लगानीकर्तालाई सेयर निष्कासन गरिसकेको थियो भने २०८१ असार २७ गतेदेखि रिलायन्सले वैदेशिक रोजगारीमा जानेका लागि आईपीओ खोल्ने तयारी गरेको थियो । वैदेशिक रोजगारीमा जानेका लागि आईपीओ निष्काशन गनुभन्दा एकदिन अघि मात्रै धितोपत्र बोर्डले कम्पनीको आइपीओ प्रक्रिया रोकेको थियो ।

योग्य संस्थागत लगानीकर्ताले कबोल गरेको मूल्यका आधारमा सेयरको कट अफ मूल्य प्रतिकित्ता ९ सय १२ रुपैयाँ थियो । ९ सय १२ को १० प्रतिशत कम मूल्य अर्थात प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले सर्वसाधारणलाई सेयर निष्कासन गर्ने अनुमति गत असारमै पाएको थियो । रिलायन्सले सर्वसाधारणलाई प्रतिकित्ता ८२० रूपैयाँ ८० पैसामा आईपीओ जारी गर्न लागेको थियो ।

प्रकाशित मिति: २६ वैशाख २०८२, शुक्रबार  ०७ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।