नेपालीको विदेशी रक्सी मोह, ९ महिनामै भित्रियो पौने ३ अर्बको मदिरा


काठमाडौं । खुशी साट्न होस् वा दुख घटाउन अधिकांश मानिसहरुले मदिराको साहरा लिन्छन् । विभिन्न सभा, समारोहपछि नेपालमा पनि ‘आफ्टर पार्टी’ को चलन क्रमिक रुपमा बढ्दै गएको छ । र ती आफ्टर पार्टीमा अफर गरिन्छ विदेशी मदिरा ।

विदेशी मदिरा प्रति नेपालीहरुको यति धेरै मोहित छन् कि नेपालमै मदिरा उत्पादक कम्पनीहरुको उपस्थिति बाक्लो भएपनि साउनदेखि चैत महिनासम्म २ अर्ब ७३ करोड रुपैयाँ बराबरको विदेशी मदिरा नेपाल भित्रिएको छ ।

भन्सार विभागका अनुसार चालु आवको ९ महिना अवधिसम्म नेपालमा २ अर्ब ७३ करोड ५३ लाख १५ हजार रुपैयाँको मदिरा भित्रिएको छ । यस अवधिमा विभिन्न ४६ प्रकारका ३० लाख ३० हजार ५४० लिटर मदिरा तथा मदिराजन्य पदार्थ नेपाल आयात गरिएको छ । सो खरिदमा करिब पौने ३ अर्ब रकम बाहिरिएको हो ।

भोजको शोभा बढाउँदै वाइन, साथीहरुसँग गफगाफमा बियर र कुनै समारोहपछि ह्वीस्की तथा रममा युवादेखि वृद्धसम्मै रमेका देखिन्छन् ।

नेपालीहरुले पछिल्लो नौ महिनामा मात्रै २१ करोड ८ लाख ५१ हजार रुपैयाँको वाइन, १ अर्ब ८६ करोड ४८ लाख रुपैयाँको ह्वीस्की, ६ करोड २७ लाख २३ हजार रुपैयाँको रम र भोड्का र २ करोड ६५ लाख ८९ हजार रुपैयाँको बियर आयात भएको छ ।

पछिल्लो तीन आर्थिक वर्षको सोही अवधिको तथ्यांकले पनि नेपालीहरु ह्वीस्की, वाइन, रम, भोड्का र बियरमै धेरै रमाएको पुष्टि गर्छ ।

गत आर्थिक वर्ष २०८०/८१ को साउनदेखि चैतको अवधिसम्म नेपालमा ३६ लाख २४ हजार ८८ लिटर मदिरा तथा मदिराजन्य पदार्थ आयात हुँदा ३ अर्ब १० करोड ७७ लाख ८१ हजार रुपैयाँ बाहिरिएको थियो । तुलनात्मक रुपमा चालु आर्थिक वर्षमा भन्दा गत आवमा धेरै मदिरा आयात गरिएको छ ।

सो अवधिमा १ अर्ब ९६ करोड २ लाख ३८ हजार रुपैयाँको ह्वीस्की, ३६ करोड ६९ लाख ८६ हजार रुपैयाँको वाइन, ६ करोड ५२ लाख ९० हजार रुपैयाँको रम र भोड्का र २ करोड ८६ लाख ८४ हजार रुपैयाँको बियर नेपाल भित्रिएको थियो ।

यस्तै अघिल्लो आर्थिक वर्ष २०७९/८० मा नेपालमा २ अर्ब १८ करोड ३१ लाख ६० हजार रुपैयाँ बराबरको विभिन्न ४८ प्रकारका मदिरा तथा मदिराजन्य पदार्थको आयात गरिएको थियो । सो अवधिमा ३४ लाख ९४ हजार १५२ लिटर मदिरा खरिद भएको भन्सार विभागको प्रतिवेदनमा उल्लेख छ ।

नेपालीको रोजाइमा बेलायती रक्सी

चैतसम्म आयात भएका मदिरामध्ये नेपालीको रोजाइमा भने बेलायती मदिरा परेको छ ।

यस अवधिमा सर्वाधिक बेलायतबाट १ अर्ब ५४ करोड १८ लाख २० हजार रुपैयाँको आयात भएको छ । यस्तै फ्रान्सबाट ३७ करोड १३ लाख १३ हजार रुपैयाँ, भारतबाट ८ करोड ८२ लाख ३ हजार रुपैयाँको , चिनबाट १ करोड १० लाख ३५ हजार रुपैयाँको मदिरा अयात भएको छ ।

यस्तै अमेरिकाबाट १२ करोड ६ लाख ६७ हजार रुपैयाँको, अष्ट्रेलियाबाट ६ करोड १३ लाख ३३ हजार रुपैयाँको, आयरल्याण्डबाट ७ करोड ८ लाख १७ हजार रुपैयाँको, इटलीबाट ३ करोड ५४ लाख ९७ हजार रुपैयाँको मदिरा आयात हँदा म्याक्सिकोबाट २ करोड ५६लाख २४ हजार रुपैयाँको मदिरा तथा मदिराजन्य पदार्थ आयात भएको छ ।

यस्तै गत आवको सोही अवधिमा पनि सबैभन्दा बढि बेलायतबाट १ अर्ब ५४ करोड ९४ लाख ९ हजार रुपैयाँ, फ्रान्ससबाट ६५ करोड ४३ लाख ५१ हजार रुपैयाँ, भारतबाट १४ करोड १६ लाख ८६ हजार रुपैयाँ, अमेरिकाबाट ८ करोड ९९ लाख ३४ हजार रुपैयाँ बराबरको मदिरा नेपाल आयात गरिएको थियो । यस्तै चीनबाट १ करोड ४१ लाख ५० हजार रुपैयाँ, आयरल्यान्ड र इटालीबाट ८ करोड १८ लाख ४७ हजार रुपैयाँ, जापानबाट ८९ लाख ७६ हजार रुपैयाँ, मेक्सिकोबाट ३ करोड ६८ लाख ९७ हजार रुपैयाँको र पोर्चुगलबाट ३ करोड २६ लाख रुपैयाँको मदिरा र मदिराजन्य पदार्थ आयात भएको थियो ।

अघिल्लो आर्थिक वर्ष २०७९/८० को ९ महिनामा बेलायतबाट १ अर्ब ११ करोड ९३ लाख ६० हजार रुपैयाँ, फ्रान्सबाट ३२ करोड १९ लाख २२ हजार रुपैयाँ, भारतबाट ५९ करोड ४४ लाख ८२ हजार रुपैयाँ, अमेरिकाबाट ७ करोड ९३ लाख ८७ हजार रुपैयाँ, चीनबाट १ करोड ४१ लाख ५० हजार रुपैयाँ, स्पेनबाट ३ करोड ५० लाख ७९ हजार रुपैयाँ, इटालीबाट १ करोड ६४ लाख ५९ हजार रुपैयाँ, जापानबाट ५६ लाख ४८ हजार रुपैयाँ र पोर्चुगलबाट ५० लाख ४८ हजार रुपैयाँको मदिरा नेपाल आयात गरिएको हो ।

नेपालमा मदिरा तथा मदिराजन्य पदार्थ उत्पादन गर्ने कम्पनीहरु भएतापनि विदेशी मदिरालाई अक्सर मानिसहरुले फरक स्वाद र प्रतिष्ठाको हिसाबले हेर्नेहुँदा नेपालीहरुको विदेशी मदिराको मोह वर्षौँदेखि कायम रहँदै आएको छ ।

प्रकाशित मिति: २६ बैशाख २०८२, शुक्रबार  ०८ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।