नेपालको चालु खाता र शोधनान्तर स्थिति सन्तोषजनक


काठमाडौँ । चालु आर्थिक वर्षको पछिल्लो ९ महिनामा नेपालको अर्थतन्त्रका महत्वपूर्ण सूचकहरू सकारात्मक देखिएका छन्। चालु खाता बचत र शोधनान्तर स्थिति दुवै सन्तोषजनक देखिएका छन् ।

समीक्षा अवधिमा देशको चालु खाता २ खर्ब १० अर्ब २२ करोडले बचतमा रहेको छ । यो अघिल्लो वर्षको सोही अवधिको चालु खाता वचतको तुलनामा बढेको हो । गत आवको सोही अवधिमा चालु खाता १ खर्ब ७९ अर्ब ८३ करोड रुपैयाँले वचतमा थियो ।

अमेरिकी डलरमा हेर्दा, अघिल्लो वर्षको १ अर्ब ३५ करोडको तुलनामा यस वर्ष १ अर्ब ५५ करोड डलर बचत भएको छ ।

विदेशी लगानीको क्षेत्र पनि सकारात्मक देखिएको छ । समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ७ अर्ब ७१ करोड रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ४ अर्ब ७८ करोड थियो ।

त्यसैगरी, प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) पनि बढेर ८ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी ६ अर्ब ४९ करोड रुपैयाँ थियो । यसले नेपालप्रति विदेशी लगानीकर्ताहरूको आकर्षण बढ्दै गएको संकेत गरेको छ ।

शोधनान्तर स्थितिमा भने कमी आएको देखिन्छ । समीक्षा अवधिमा शोधनान्तर स्थिति ३ खर्ब ४६ अर्ब २३ करोडले बचतमा रहेको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा ३ खर्ब ६५ अर्ब १६ करोड रहेको थियो । अमेरिकी डलरमा यो रकम २ अर्ब ५५ करोड डलर रहेको छ । जबकि अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ७५ करोड डलर थियो ।

यद्यपि शोधनान्तर स्थितिमा केही कमी आए पनि समग्रमा देशको अर्थतन्त्र सन्तुलित दिशामा अघि बढेको देखिन्छ । चालु खाता बचतमा वृद्धि, पुँजीगत ट्रान्सफरमा सुधार र प्रत्यक्ष वैदेशिक लगानीमा वृद्धिले अर्थतन्त्रको स्थायित्वलाई थप सुदृढ बनाएको छ ।

प्रकाशित मिति: २८ बैशाख २०८२, आइतबार  १९ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।