म निर्दोष छु, मबाट एक टुक्रा जमिन कसैलाई दिने निर्णय भएको छैन : अध्यक्ष नेपाल


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणमा आफू निर्दोष रहेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यकर्ता भेलामा उनले पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको निर्णयप्रति असन्तुष्टि प्रकट गर्दै कानुनी उपचारका लागि छिट्टै प्रक्रिया सुरु गर्ने बताए ।

अध्यक्ष नेपालले मन्त्रिपरिषद्लाई रहेको नीतिगत निर्णयको अधिकारअनुसार अधिकतम जनताको हितमा स्वास्थ्य सेवा सञ्चालनका लागि पतञ्जलीलाई जग्गा उपलब्ध गराइएको जानकारी दिए । उनले न्यायका लागि कानुनी उपचारमा जान कानुनविद्सँग परामर्श भइरहेको उल्लेख गरे ।

पूर्वप्रधानमन्त्री नेपालले मुलुकको राष्ट्रिय राजनीतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको आफ्नो पार्टीलाई कमजोर बनाउने उद्देश्यले आएको निर्णयप्रति नेता तथा कार्यकर्ता आत्तिन नपर्ने प्रष्ट पारे ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष नेपालले आफूले एक टुक्रा पनि सरकारी जमिन कसैलाई दिने निर्णय नभएको बताएका छन् । “म प्रधानमन्त्री हुँदा कुनै पनि मन्त्रीलाई अनुचित काम गर्न निर्देशन दिएको छैन”, उनले भने,“सबै हेर्ने न्याय जीउँदै भएकाले न्यायभन्दा ठूलो र सत्यभन्दा ठूलो कुरा केही हुँदैन ।”

अध्यक्ष नेपालले कसैमाथि आरोप लगाउन नचाहेको उल्लेख गर्दै कानुनभन्दा माथि कोही पनि नभएकाले अब कानुनी प्रक्रियाबाट नै अगाडि बढ्ने बताए। अहिलेसम्म आफुले कुनै खराब नियतबाट राष्ट्रलाई हानी हुने गरी लाभ उठाएर भ्रष्टाचार नगरेको उनको भनाइ थियो ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी सञ्चालनका लागि हदबन्दीभन्दा बढी जग्गा खरिद गरेको तथा उक्त जग्गा कम मूल्यमा किनेर बढी मूल्यमा बेचबिखन गरेको अभियोगमा अध्यक्ष नेपालविरुद्ध मुद्दा दायर गरेपछि उनी आजै काठमाडौँ फर्किएका छन् ।

प्रकाशित मिति: २३ जेष्ठ २०८२, शुक्रबार  ०६ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।