सीपयुक्त कामदार जापान पठाउने सम्झौताको अवधि ५ वर्ष थपियो


काठमाडौँ । सरकारले जापानमा निश्चित सीपयुक्त कामदार पठाउने सम्झौता नबीकरण गर्ने निर्णय गरेको छ ।  मन्त्रीपरिषदको बैठकले समझदारी थप ५ वर्षका लागि नवीकरण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले जानकारी दिए ।

उनका अनुसार सन् २०१९ मा भएको दुई देशबिचको समझदारी थप ५ वर्षका लागि नवीकरण गर्ने निर्णय मन्त्रीपरिषद बैठकले गरेको हो ।

सन् २०१९ मार्च २० मा भएको उक्त समझदारीको अवधि मार्च १९, २०२४ मै सकिइसकेको थियो । सरकारले सोही अवधिदेखि नै सम्झौता नबीकरण हुने गरी निर्णय गरिएको जानकारी दिए ।

“नेपाल र जापान सरकारबिच सन् २०१९ मार्च २० मा हस्ताक्षर भएको जापानमा निश्चित सीपयुक्त कामदार पठाउने विषयको समझदारीपत्रको अवधि १९ मार्च २०२४ बाट थप ५ वर्षका लागि नवीकरण गर्ने निर्णय भएको छ”, उनले भने ।

समझदारीअनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २०८० सालमै ‘जापानमा निश्चित सीपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधि, ०८०’ लागू गरेको थियो ।

२०७५ चैत ११ गते नेपाल सरकारको तर्फबाट निमित्त श्रम सचिव रामप्रसाद घिमिरे र जापान सरकारको तर्फबाट जापानी राजदुत मासामिची साइगोले नेपाली कामदार जापान पठाउने सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए ।

प्रकाशित मिति: ३२ असार २०८२, बुधबार  १७ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।