वैदेशिक रोजगारीको कहाली लाग्दो तस्बीरः एक वर्षमा १५ सय बढीको मृत्यु


काठमाडौँ । वैदेशिक रोजगारी नेपालीहरुको लागि अवसर मात्र नभई जोखिमको यात्रा पनि बन्दै गएको छ । । वैदेशिक रोजगार बोर्डका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै १ हजार ५१७ जनाले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका छन् । यो संख्या अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा १७१ जनाले बढी हो ।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा वैदेशिक रोजगारीका क्रममा १ हजार ३४६ जनाले ज्यान गुमाएका थिए । यसरी हेर्दा मृत्यु हुने संख्यामा उल्लेख्य वृद्धि भएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा वैदेशिक रोजगारीका क्रममा मृत्यु हुने नेपालीको संख्या १२.७० प्रतिशतले वृद्धि भएको छ । यो तथ्यांकले वैदेशिक रोजगारीको सुरक्षामाथि गम्भीर चिन्ता थपिएको छ ।

विभागको तथ्यांक अनुसार, गत आवमा मात्रै ८ लाख ३९ हजार २६६ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । यसको अर्थ दैनिक करिब २ हजार ३०० नेपाली रोजगारी लागि देश छोडिरहँदा दैनिक औसतमा ४ जनाभन्दा बढी नेपालीको शव नेपाल भित्रिने गरेको छ ।

बोर्डबाट वैदेशिक रोजगारीका क्रममा मृत्यु भई ज्यान गुमाएका व्यक्तिका हकवालाले लिएको आर्थिक सहायताको तथ्यांक हेर्दा वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउनेको संख्या चिन्ताजनक देखिन्छ ।

गतवर्ष वैदेशिक रोजगारीमा मृत्यु भएका १ हजार ५१७ जनाका परिवारलाई आर्थिक सहायता उपलब्ध गराएको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

वैदेशिक रोजगारीका क्रममा बिरामी तथा अंगभंग र मृत्यु भएका व्यक्तिलाई आर्थिक सहायता प्रदान गर्न श्रम स्वीकृत लिएको हुनुपर्ने, श्रम स्वीकृतिको नविकरण गरेसँगै बिरामी र मृत्यु भएको वर्ष दिनभित्रै बोर्डमा निवेदन दिनुपर्ने बोर्डको कानुनी प्रक्रिया रहेको छ ।

सोही प्रक्रिया अनुरुप बोर्डले गत आर्थिक वर्ष मृतक कामदारका परिवारलाई आर्थिक सहायता स्वरुप १ अर्ब २ करोड ३४ लाख रुपैयाँ दिएको छ । वैदेशिक रोजगारीका क्रममा अंगभंग तथा गम्भीर बिरामी भएका ८६७ जनालाई आर्थिक सहायता स्वरुप २४ करोड ९९ लाख रुपैयाँ उपलब्ध गराएको छ ।

विदेशबाट ४८१ वटा शव झिकाउने क्रममा ३ करोड २५ लाख रुपैयाँ खर्च भएको छ भने शव ढुवानी गर्ने क्रममा ३ करोड २५ लाख रुपैयाँ खर्च भएको छ । बोर्डले पारिवारिक औषधीउपचार १ करोड ६८ लाख रुपैयाँ खर्च भएको बोर्डले जनाएको छ ।

बोडैले वैदेशिक रोजगारीमा ज्यान गुमाएका सबैका परिवारलाई आर्थिक सहायता उपलब्ध गराएको बताए पनि कामदारको जीवन सुरक्षा सुनिश्चित गर्न नसक्दा रेमिट्यान्स भित्र्याउने अर्थतन्त्रको यो पाटो दिनप्रतिदिन पीडादायी बन्दै गएको छ ।

प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार  ०७ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।