काठमाडौँ । राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार नेपालको बैंकिङ क्षेत्रको कुल निक्षेपमा सामान्य गिरावट आएको छ । अन्तर बैंक ब्याजदर भने २.७५ प्रतिशतमा स्थिर रहेको छ । प्राप्त विवरण अनुसार एकै दिनमा कुल निक्षेप १ अर्ब रुपैयाँले घटेर ७२ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिन ७२ खर्ब २७ अर्ब रुपैयाँ थियो ।
यो गिरावटमा मुख्यतया वाणिज्य बैंकहरुको निक्षेपमा आएको कमीको प्रभाव देखिएको छ । वाणिज्य बैंकहरुको कुल निक्षेप २ अर्ब रुपैयाँले घटेर ६४ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो दिन निक्षेप रकम ६४ खर्ब ७५ अर्ब रुपैयाँ थियो । यद्यपी ख र ग वर्गका अन्य बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप भने ७ खर्ब ५३ अर्ब रुपैयाँमा स्थिर रहेको छ ।
निक्षेपमा कमी आएपनि समग्र कर्जा लगानी भने स्थिर देखिएको छ । तथ्यांक अनुसार कुल कर्जा लगानी ५५ खर्ब ६५ अर्ब रुपैयाँमा स्थिर रहेको छ । यसमा वाणिज्य बैंकहरुको कर्जा लगानी ४९ खर्ब ४४ अर्ब रुपैयाँ र अन्य बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी ६ खर्ब २१ अर्ब रुपैयाँ रहेको छ । दुबैको कर्जा प्रवाहमा परिवर्तन भएको छैन ।
निक्षेप संकलनमा आएको कमी र स्थिर कर्जा लगानीको फलस्वरुप बैंक तथा वित्तीय संस्थाहरुको बर्जा निक्षेप अनुपार सीडी अनुपातमा भने झिनो सुधार वृद्धि भएको छ । सीडी अनुपात ७६.०१ प्रतिशतबाछ बढेर ७६.०३ प्रतिशत पुगेको छ ।
पछिल्ला दिनहरुमा पनि निक्षेप संकलन घट्ने र कर्जा प्रवाह सामान्य बढ्ने प्रवृत्ति देखिएको छ । यद्यपि हालको तथ्यांकले बैकिङ प्रणालीमा ठूलो उतारचढाव नभएको संकेत गर्दछ । अन्तरबैक ब्याजदरमा स्थिरताले तत्काल तरलतामा ठूलो चाप नरहेको संकेत गरेपनि निक्षेपमा आएको गिरावटले आगामी दिनमा तरलतामा संकुचन आउन सक्ने सम्भावना रहन्छ । तर राष्ट्र बैंकका प्रवक्ता किरण पण्डित भने एक दिनको तथ्यांकले समग्र बजारको स्थिति नदेखाउने बताउँछन् । उनका अनुसार तत्काल बजारमा तरलता पर्याप्त मात्रामा रहेकोले चिन्ता गर्नुपर्ने अवस्था छैन् ।












प्रतिक्रिया