नाफा बढ्दा बैंकहरूको प्रतिसेयर आम्दानी पनि सुध्रियो, दिगो रहला ?


काठमाडौं । पछिल्ला वर्षहरूमा निरन्तर घट्दै गइरहेको बैंकहरूको प्रतिसेयर आम्दानी (इपीएस)मा गत आवमा भने सुधार भएको छ । बैंकहरूको वित्तीय विवरणमा सुधार हुँदा प्रतिसेयर आम्दानीमा पनि सुधार भएको हो ।

वाणिज्य बैंकहरूले अघिल्लो आवमा ४९ अर्ब ५७ करोड ८७ लाख रुपैयाँ खुद नाफा गरेकोमा गत आवमा भने २२ अर्ब रुपैयाँ बढी नाफा कमाउन सफल भएका छन् । गत आवमा उनीहरूले ७१ अर्ब ४५ करोड ८ लाख रुपैयाँ नाफा कमाएका छन् ।

बैंकको कुल नाफालाई कुल सेयर संख्याले भाग गरेर प्रतिसेयर आम्दानी निकालिन्छ । नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि बढेको हो ।

बैंकहरूले सार्वजनिक गरेको गत आवको अपरिष्कृत वित्तीय विवरण अनुसार औसत इपीएस १९ रुपैयाँ ४३ पैसा कायम छ । अघिल्लो आवमा वाणिज्य बैंकहरूको इपीएस १४ रुपैयाँ २४ पैया रहेकोमा गत आवमा ५ रुपैयाँ १९ पैसाले बढेको हो ।

अघिल्लो आवको तुलनामा गत आवमा १५ बैंकको इपीएस बढेको छ । बाँकी ५ बैंकको भने इपीएस घटेको वित्तीय विवरणमा देखिएको छ ।

इपीएस सबैभन्दा बढी बढाउने बैंकको सूचीमा सबैभन्दा माथि नेपाल बैंक छ । यस बैंकले २५.४९ रुपैयाँ इपीएस बढाउन सफल भएको छ । सबैभन्दा कम इपीएस बढाउनेमा हिमालयन बैंक छ । यस बैंकले १.२६ रुपैयाँले मात्रै इपीएस बढाएको छ ।

यसबाहेक एनआइसी एसियाको इपीएस सबैभन्दा कम छ । यसबाहेक सिटिजन्स बैंक, ग्लोबल आइएमई बैंक, नेपाल एसबीआई बैंक र स्ट्याण्डर्ड चार्टड बैंकको इपीएस अघिल्लो आवको तुलनामा घटेको छ ।

सबैभन्दा बढी प्रतिसेयर आम्दानी (इपीएस) एभरेष्ट बैंकको छ । यस बैंकको इपीएस गत आवमा ३७.९९ रुपैयाँ छ । २०८१ असारमा यस बैंकको इपीएस ३१.४७ रुपैयाँ थियो ।

यस्तै सबैभन्दा बढी इपीएस हुने बैंकको दोस्रो नम्बरमा स्ट्याण्डर्ड चार्टड बैंक छ । गत आवमा यस बैंकको इपीएसस ३०.१७ रुपैयाँ छ । अघिल्लो आवको तुलनामा बैंकको इपीएस घटेको हो । अघिल्लो आवमा यस बैंकको इपीएस ३४.७३ रुपैयाँ थियो ।

गत आवमा कृषि विकास बैंकको इपीएस २७.६३ रुपैयाँ छ । अघिल्लो आवमा यस बैंकको इपीएस १८.५६ रुपैयाँ थियो । अघिल्लो आवमा २२.९ रुपैयाँ रहेको नबिल बैंकको इपीएस गत आवमा २६.३४ रुपैयाँ रहेको छ । गत आवमा नेपाल बैंकको इपीएस २५.६८ रुपैयाँ छ । अघिल्लो आवमा यस बैंकको इपीएस ०.१९ रुपैयाँ थियो ।

अघिल्लो आवमा १६.३२ रुपैयाँ रहेको राष्ट्रिय वाणिज्य बैंकको इपीएस गत आवमा २४.४१ रुपैयाँ पुगेको छ । गत आवमा सिद्धार्थ बैंकको इपीएस २४.१ रुपैयाँ, प्रभुको २३.१२ रुपैयाँ, प्राइम कमर्सियल बैंकको २०.७४ रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १९.८ रुपैयाँ, सानिमा बैंकको १८.९३ रुपैयाँ छ ।

यस्तै एनएमबी बैंकको इपीएस गत आवमा १७.८७ रुपैयाँ हुँदा माछापुच्छ्रे बैंकको १७.३१ रुपैयाँ, लक्ष्मी सनराइज बैंकको १६.९१ रुपैयाँ, नेपाल एसबीआई बैंकको १६.५४ रुपैयाँ, ग्लोबल आइएमई बैंकको १६.२८ रुपैयाँ छ ।

गत आवमा सिटिजन्स बैंकको इपीएस ८.७६ रुपैयाँ हुँदा कुमारीको ८.०७, हिमालयनको ६.९८ रुपैयाँ छ । एनआइसी एसियाको इपीएस वाणिज्य बैंकमध्ये सबैभन्दा कम १.०८ रुपैयाँ छ ।

यो पनि…

बैंकहरूको नाफा बढ्यो, तर घट्न सकेन निष्क्रिय कर्जा !

प्रकाशित मिति: ३ भाद्र २०८२, मंगलबार  १० : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।