काठमाडौं । गत आवमा बैंकहरूको नाफामा सुधार भएसँगै वितरणयोग्य नाफामा पनि उल्लेख्य सुधार भएको छ ।
विशेष गरी विगतका वर्षमा उठाउन नसकेको ब्याज (इन्ट्रेस्ट सस्पेन्स) उठाउँदा बैंकहरुको वितरणयोग्य नाफामा उल्लेख्य सुधार देखिएको हो ।
अघिल्लो आवको तुलनामा गैर–बैंकिङ सम्पत्ति बुक गरेर त्यसका लागि नियामकीय जगेडामा उल्लेख्य रकम बैंकहरुले सारेको छन् । तर, गत आर्थिक वर्षमा बैंकहरुले ब्याज उठाउन नसकेर नियामकीय जगेडामा ट्रान्सफर गरेको १३ अर्ब ६१ करोड ९६ लाख रुपैयाँ ब्याज उठेसँगै बैंकहरुको सञ्चित नाफामा उल्लेख्य सुधार भएको छ ।
वाणिज्य बैंकहरुले लाभांश वितरण गर्नसक्ने सञ्चित नाफा गत आर्थिक वर्षमा २१ अर्ब ६७ करोड ९५ लाख पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा केही बैंकहरुको उच्च सञ्चित नोक्सानीको कारण समग्र सञ्चित नोक्सानी ९ अर्ब ३६ करोड ६३ लाख रुपैयाँ थियो । बैंकहरुको वितरणयोग्य नाफा भने करिब २२ अर्ब रुपैयाँ मात्रै छ ।
गत आवमा बैंकहरुको गैर–बैंकिङ सम्पत्ति करिब १२ अर्ब ७९ करोड अर्थात् ४२.१३ प्रतिशतले बढेर ४३ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । यसरी बुक गरेको गैर–बैंकिङ सम्पत्ति बिक्री नहुँदासम्म बैंकहरुले कर्मचारी बोनस, आयकर, सीएसआर लगायतमा गर्नुपर्ने खर्च कटाएर बाँकी हुने करिब ५० प्रतिशत नियामकीय जगेडा कोषमा जम्मा गर्नुपर्ने हुन्छ । जसले गर्दा वितरणयोग्य नाफा केही प्रभावित भएको हो ।
कर्जा असुलीमा बैंकहरु सफल भएसँगै यो पटक लाभांश क्षमता बढेको छ । कतिपय बैंकको नाफा उच्च देखिए पनि लाभांश क्षमता कमजोर छ । प्राप्त भइनसकेको आम्दानी पनि नाफामा देखिने तर वितरणयोग्य नहुने भएकाले नाफा उच्च भए पनि लाभांश क्षमता नहुने गरेको छ ।
आर्थिक वर्ष सकिएको तीन महिनाभित्र वाह्य लेखापरीक्षण गर्नुपर्ने व्यवस्था छ । वित्तीय विवरणको वाह्य लेखापरीक्षण गरिसकेपछि अपरिस्कृत अहिलेको नाफा, लाभांश क्षमता लगायत धेरै सूचक हेरफेर हुन सक्नेछन् । वास्तविक लेखापरीक्षण सकिएपछि बैंकका सञ्चालक समितिले औपचारिक बैठकमार्फत सेयरधनीलाई क्षमताका आधारमा धमाधम लाभांश घोषणा गर्नेछन् ।

अघिल्लो आवको नाफाबाट गत वर्ष आधा भन्दा धेरै बैंकले लाभांश दिएका थिएनन् । तर, गत आवको नाफाबाट यो वर्ष भने धेरैजसो बैंकले लाभांश दिन सक्ने देखिएको छ ।
सञ्चित नोक्सानी ७ अर्ब १० करोड रहेको हिमालयन बैंक, ५ अर्ब २१ करोड सञ्चित नोक्सानी रहेको एनआईसी एशिया बैंक, २ अर्ब ७९ करोड सञ्चित नोक्सानीमा रहेको कुमारी बैंक र करिब ४५ करोड सञ्चित नोक्सानी रहेको नेपाल बैंक बाहेक अरु बैंकले लेखापरीक्षणपछि प्रोभिजन बढेर नाफा नघटेको अवस्थामा लाभांश दिनसक्ने देखिन्छ ।
१.४४ प्रतिशत मात्रै लाभांश क्षमता देखिएको नेपाल इन्भेष्टमेन्टले मेगा बैंकसँग मर्जर गर्दाको वागर्ने पर्चेज गेन रहेकोले चाहेको अवस्थामा त्यसबाट बोनस सेयर दिन सक्छ । सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंक भने सञ्चित नाफामा भए पनि १ प्रतिशतभन्दा कमको लाभांश क्षमता छ । ११ बैंकले भने दोहोरो अंकमा नै लाभांश बाँड्न सक्ने देखिन्छ ।
एभरेष्ट बैंकको सबैभन्दा धेरै ३८.२७ प्रतिशत लाभांश क्षमता छ भने सानिमाको दोस्रो २०.४७ प्रतिशत लाभांश क्षमता छ । तर, सानिमा बैंकले पाइभेट इक्विटी/भेञ्चर क्यापिटलको कोषमा गरेको लगानीमा क्यापिटल चार्ज लाग्ने भन्दै गत वर्ष नै राष्ट्र बैंकले रोकेको कारण लाभांश रोकिएकोले बैंकले २० प्रतिशत नै लाभांश बाँड्न पाउने वा नपाउने निश्चित छैन ।
यस्तै स्ट्याण्डर्ड चार्टड बैंकको लाभांश क्षमता २०८१ अअसारमा २६.११ प्रतिशत रहेकोमा २०८२ असारमा घटेर १९.८५ प्रतिशतमा झरेको छ ।
कृषि विकास बैंकको लाभांश क्षमता १८.४२ प्रतिशत रहँदा नबिलको १७.६४ प्रतिशत, प्राइमको १४.३३, ग्लोबल आईएमईको १४.११ र सिद्धार्थ बैंकको १३.२२ प्रतिशत छ ।













प्रतिक्रिया