काठमाडौँ । नेपालले एक महिनाको अवधिमा सबैभन्दा बढी निर्यात गरेको सोयाबिन तेलमा ११ करोड ३७ लाख ३० हजार रुपैयाँ व्यापार घाटा व्यहोरेको छ ।
भन्सार विभागको तथ्यांकलाई केलाउने हो भने नेपाली मौलिक उत्पादनको निर्यातभन्दा प्रशोधन गरेर हुने निर्यात धेरै देखिन्छ ।
ठूलो मात्रामा कच्चा पदार्थ आयात गरी प्रशोधन गरेर निर्यात हुने भएकाले निर्यात हुने वस्तुको पहिलो स्थानमा सोयाबिन रहेको छ ।
विभागको तथ्यांक अनुसार चालु आवको पहिलो महिनामा नेपालबाट सबैभन्दा धेरै सोयाबिन तेल निर्यात भएको छ । साउन महिनामा १० अर्ब ६९ करोड ५८ लाख ४० हजार रुपैयाँको ५ करोड ७ लाख ८० हजार २३४ किलो सोयाबिन तेल निर्यात भएको हो ।
विभागका अनुसार सोयाबिन तेल निर्यातमा ठूलो हिस्सा देखिए पनि उक्त सोयाबिनको कच्चा पदार्थ आयात भने निर्यातको तुलनामा बढी छ ।
एक महिनामा नेपालले अर्जेन्टिना, ब्राजिल, पाराग्वे र कतारबाट १० अर्ब ८० करोड ९५ लाख ७० हजार रुपैयाँ बराबरको ७ करोड १७ लाख ६ हजार ४४५ किलोग्राम सोयाबिन तेलको कच्चा पदार्थ आयात गरेको छ ।
भारतसँगको व्यापार सम्झौतामा नेपालमा कच्चा पदार्थ प्रशोधन गरेर भारत निर्यात गर्ने सम्झौता भएको थियो सोही अनुसार हाल व्यापार भइरहेको छ ।
कच्चा पदार्थ बढी मात्रामा आयात गरेर प्रशोधन गर्दा उद्योगहरु पनि सञ्चालन भइरहने र रोजगारीको अवसर पनि प्राप्त हुने हुँदा घाटामा रहेर पनि व्यापार भइरहेको अर्थविद् डिल्लीराज खनाल बताउँछन् । वैदेशिक व्यापारले आशा जगाएको भए पनि यो टिकाउ नहुने उनी बताउँछन् ।
यसरी अर्बौँ रुपैयाँको कच्चा पदार्थ आयात हुँदा नेपालमा उत्पादन भएको भटमासले उचित मूल्य पाउन नसकेको पनि जानकारहरु बताउँछन् ।
एक महिनामा धेरै निर्यात भएका वस्तु
नेपालको निर्यात तथ्यांकलाई हेर्दा उच्च परिमाण तथा मूल्यमा हुने निर्यातको अवस्था चलायमान हुने देखिएको छ ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको साउन महिनामा नेपालबाट सबैभन्दा धेरै सोयाबिन तेल, कार्पेट, पाम तेल, सूर्यमूखी फूलको बीउ/तेल, पोलिस्टर एकल धागो लगायतका वस्तु तथा सामानहरु निर्यात भएको छ ।
साउन महिनामा कार्पेट अमेरिका, बेलायत, जर्मनी इटाली, क्यानडा, फ्रान्स लगायत ३० वटा मुलुकमा ८२ करोड ५ लाख १७ हजार रुपैयाँको कार्पेट निर्यात भएको छ ।
साउनमा ६७ करोड लाख ३८ हजार रुपैयाँको पाम तेल, ६५ करोड १४ लाख ९८ हजार रुपैयाँको सूर्यमुखी फुलको बीउ/तेल निर्यात भएको छ भने ५० करोड ९६ लाख ३२ हजार रुपैयाँको पोलिस्टर एकल धागो निर्यात भएको छ ।












प्रतिक्रिया