कोशेढुंगा: आम नेपालीको वास्तविक कथा उतार्न सफल चलचित्र


काठमाडौँ । प्रेम कथादेखि वियोगसम्म, नेपालमै गरिएको मेहनतको सफलतादेखि परदेशमा पाएको दुःखसम्मको यथार्थको एक संग्रह हो चलचित्र ‘कोशेढुंगा’ ।

यो केवल एउटा चलचित्र मात्र होइन नेपालीको जीवनशैली, गाउँघरको यथार्थ र नेपाली समाजको वास्तविकता हो । चलचित्रमा युवाले सुन्दर भविष्यको खोजिमा विदेशी भुमीमा भोग्नुपरेको पिडा, असक्षम राज्य र नेपालको वास्तविक ग्रामीण परिवेश चित्रण गरिएको छ, जसले आम नेपालीको कथा बोलेको छ ।

सञ्जोग र शितलको प्रेम कथादेखि बिहेसम्म र त्यसपछिका संघर्षका कथाको वरीपरी घुमेको छ यो चलचित्र । चलचित्रले एउटा नारीले कतिसम्म पिडा भोग्नुपर्छ ? कति संघर्ष गर्नुपर्छ ? भन्ने कुरा छर्लंग दर्शाएको छ ।

साथै, चलचित्रमा रहेका सञ्जोगका फुपूका छोरा ऋषिरामले गाउँमै पशुपालन गरेर पाएको सफलतालाई समेत देखाइएको छ ।

यस्तै सुस्त अर्थतन्त्र, बीमा प्रतिको आम नागरिकको बुझाइ जस्ता विषयवस्तुलाई टपक्क टिपिएको छ चलचित्रमा । निर्देशक सरोज पौडेलको खुबी, आम दर्शकलाई सस्पेन्स र मनोरञ्जन एकै पटक दिलाइदिएका छन् उनले ।

चलचित्रले देशको वर्तमान परिस्थिति, बेरोजगारीको समस्याले पिल्सिएको एउटा मध्यमवर्गको घरपरिवारको कथा बोलेको छ ।

चलचित्र राजनीतिक अस्थिरताका कारण सिर्जित बेरोजगारी, अवसरको अभाव तथा देशभित्रै रहन सक्ने आशावादी वातावरणको कमीले गर्दा युवा पुस्ता विदेश जान बाध्य भएको अहिलेको अवस्था सुहाउँदो बनेको छ ।

कथाले समाजमा घटेका घटनालाई ऐनामा देखाएझैँ गर्छ, जसले दर्शकलाई गहिरो सोचमा डुबाउँछ ।

चलचित्र हेर्दा मध्यान्तरसम्म हाँसोको समिश्रण भएता पनि अन्त्यमा सञ्जोगले भोगेको कहालीलाग्दो घटना र शीतलले भोगेको संघर्षले सबैको आखाँबाट आशु नआउला भन्न सकिन्न ।

चलचित्रमा रहेको झलकमा गन्दर्भको कर्णप्रिय गीत, ‘हे बरै’ बोलको गीतले दर्शकको मन भक्कानिन्छ ।

सुरक्षा पन्त, आर्यन सिग्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, मन्जिल कुमार, सरोज खनाल लगायत अभिनित यस चलचित्र आम नेपालीको वास्तविक कथामा आधारित चलचित्र हो भन्दा फरक नपर्ला ।

चलचित्र गत भदौ १२ गते बिहीबारदेखि देशभर रिलिज भएको यस चलचित्र रिलिज भएको थियो ।

प्रकाशित मिति: २० भाद्र २०८२, शुक्रबार  ०८ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।