सेयर बजारमा आएको अस्वभाविक गिरावट सम्बन्धि आवश्यक कदम चाल्न लगानीकर्ताको ध्यानाकर्षण


काठमाडौँ । सेयर बजारमा देखिएको अस्वभाविक गिरावटले लगानीकर्तामा निराशा छाएको छ । आइतबार लगानीतकर्ताहरुले संयुक्त रुपमा नेपाल राष्ट्र बैंकका गभर्नरलाई ध्यानाकर्षण पत्र बुझाएर सुधारको लागि विभिन्न मागहरु प्रस्तुत गरेका छन् ।

ध्यानाकर्षण पत्रमा लगानीकर्ताहरुले बैंंक तथा वित्तीय संस्थाहरुलाई दोस्रो बजारमा सहज कारोबार गर्न दिन माग गरेका छन् ।

लगानीकर्ताहरूले बैंक तथा वित्तीय संस्थाहरूलाई दोस्रो बजारमा शेयर खरिद बिक्री गर्न पूर्ण रूपमा अनुमति दिनुपर्ने माग गरेका छन् । यसले बजारमा तरलता वृद्धि भई लगानीकर्ताको विश्वास फर्कने र बजार थप गतिशील बन्ने विश्वास उनीहरुको छ ।

यस्तै हालको व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाहरूले एक व्यक्ति वा समूहलाई शेयर धितोमा २५ करोडसम्म कर्जा दिन पाउने व्यवस्था गरिनुपर्ने सुझाव दिइएको छ । यसले लगानीकर्ताको पहुँच बढ्ने र बजारमा लगानी प्रवद्र्धन हुने अपेक्षा लगानीकर्ताहरुको छ ।

लगानीकर्ताहरूले लघुवित्त संस्थाहरूले २५ प्रतिशत भन्दा बढी लाभांश वितरण गर्न नपाउने हालको व्यवस्थालाई पुनर्विचार गर्नुपर्ने माग गरेका छन्। लाभांश वितरणमा लचकता अपनाउँदा लघुवित्तहरूको वित्तीय क्षमता बढ्ने र लगानीकर्ता आकर्षित हुने विश्वास गरिएको छ ।

बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो प्राथमिक पुँजीको निश्चित प्रतिशत शेयर बजारमा लगानी गर्न पाउने व्यवस्थालाई २०७३ सालको नियम अनुसार नै कायम राख्नुपर्ने सुझाव दिइएको छ ।

यस्तै लगानीकर्ताहरुले गैर आवासीय नेपालीहरूलाई नेपालको पुँजी बजारमा सहज रूपमा लगानी गर्न आकर्षित गर्नका लागि कानुनी र प्रक्रियागत अड्चनहरू हटाउनुपर्ने माग गरेका छन् । यसले देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास उनीहरुको छ ।
लगानीकर्ताहरूले यी सुझावहरूलाई कार्यान्वयन गरेमा पुँजी बजारमा स्थायित्व आउने र यसको दिगो विकासमा टेवा पुग्ने आशा व्यक्त गरेका छन् ।

प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार  १२ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।