काठमाडाैँ । पूँजीबजार सुधार सुझाव कार्यदलले सेयरको ‘लक–इन’ चरणबद्ध खुलाउने व्यवस्था गर्न धितोपत्र बोर्डलाई सुझाव दिएको छ।
कार्यदलले धितोपत्र दर्ता तथा निष्कासन नियमावली संशोधन गरी सेयरको लक–इन एकै पटक नखुलाउन सुझाव दिएको हो । कार्यदलले एक वर्षभित्र गर्नुपर्ने काममा साना तथा मझौला उद्यम प्ल्याटफर्म सञ्चालन गर्न समेत सुझाएको छ ।
यस्तै कार्यदलले लगानीकर्ताको मनोबल बढाउन तत्काल गर्नुपर्ने सुधारको रूपमा १५ बुँदा समेटेको छ । जसमा सेयर लगानीकर्ताले माग गर्दै आएको २५ करोडको सेयर धितो कर्जाको सीमा हटाउने, बैंक तथा वित्तीय संस्थालाई सर्टटर्ममा सेयर खरिद गर्न दिने, दुईभन्दा बढी डिम्याट खाता खोल्न दिनुपर्नेजस्ता विषय समेटिएको छ ।
साथै, धितोपत्र दलाल व्यवसायीमार्फत मार्जिन कारोबार प्रणाली कार्यान्वयन गर्ने, सीडीएस एन्ड क्लियरिङ लिमिटेडबाट प्रदान गरिने इन्टरनेसनल सेक्युरिटिज आइडेन्टिफिकेसन नम्बर (आईएसआईएन) नम्बरलाई एकरूपता दिन मापदण्ड तयार गरी लागु गर्न पनि सुझाव दिइएको छ ।
कार्यदलले धितोपत्र बाँडफाँट सम्बन्धी विद्यमान व्यवस्था समसामयिक पुनरावलोकन गर्न सुझाएको छ । संगठित संस्थाले प्रारम्भिक सार्वजनिक सेयर निष्कासन गर्ने सम्बन्धमा रहेको जारी पूँजीको न्यूनतम १० प्रतिशत सीमा पुनरावलोकन गर्ने नियमावली एक वर्षभित्र संशोधन गर्नुपर्ने कार्यदलको सुझाव छ ।
आवश्यक विनियम निर्माण र प्रणाली विकास गरी एसएमईएस प्ल्याटफर्म सञ्चालनमा ल्याउन समेत कार्यदलले सुझाव दिएको छ । सामाजिक सञ्जाल प्रयोग गरी सर्वसाधारण लगानीकर्ताबाट प्रारम्भिक सार्वजनिक निष्कासनअघि पूँजी संकलन सम्बन्धमा अपनाइएको व्यवहार नियमन गर्न एक वर्षभित्र आवश्यक व्यवस्था गर्नुपर्ने कार्यदलले सुझाएको छ ।
त्यसैगरी, कार्यदलले गैरआवासीय नेपालीबाट दोस्रो बजारमा विदेशी मुद्रामा गर्ने लगानी र फिर्ता लाने सम्बन्धमा स्पष्ट नीतिगत व्यवस्था गर्नसमेत कार्यदलले सुझाएको छ ।
सेटलमेन्ट ग्यारेन्टी फन्ड तथा अक्सन मार्केट सञ्चालनमा ल्याउन अवधि पनि एक वर्ष तोकिएको छ । यथार्थपरक मूल्य निर्धारण प्रक्रियाका लागि बुक बिल्डिङ विधि प्रभावकारी बनाउन यससम्बन्धी नीतिगत व्यवस्था परिमार्जन गरी समसामयिक बनाउने कार्यदलको सुझाव छ ।
प्रारम्भिक सार्वजनिक निष्कासन र हकप्रद सेयर निष्कासन सम्बन्धमा निश्चित मापदण्ड तयार गरी एक वर्षभित्र लागु गरिसक्नु पर्ने कार्यदलले व्यवस्था गरेको छ । संस्थापक सेयरधनीहरूको सेयर बिक्री सम्बन्धमा कायम रहेको लक–इन अवधि एकै पटक नखुलाइ चरणबद्ध रूपमा खुलाउने गरी धितोपत्र दर्ता तथा निष्कासन नियमावली संशोधन गर्न सुझाव दिएको हो ।
बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको संस्थापक सेयर खरिद बिक्री प्रक्रियाको विद्यमान व्यवस्था पुनरावलोकन गर्न समेत सुझाव दिइएको छ । पूँजीबजारमा लगानीकर्ताको व्ययभार न्यूनीकरण गरी लागत प्रभावी बनाउन आवश्यक पुनरावलोकन गर्न कार्यदलले सुझाएको छ ।
त्यसैगरी बीमा कम्पनीको सहायक कम्पनीलाई धितोपत्र व्यापारीका रूपमा कार्य गर्न दिने गरी धितोपत्र व्यवसायी नियमावलीमा संशोधन गर्ने र धितोपत्र कारोबार विनियमावलीमा रहेको कारोबार व्यवस्थापन प्रणाली एक वर्षभित्र सुधार गरिसक्नु पर्ने कार्यदलले सुझाएको छ ।












प्रतिक्रिया