दसैंका लागि बजारमा कस्तो छ चहलपहल ?


काठमाडौँ । नेपालीहरूको महान् चाड दसैं सुरू भएसँगै देशभरका भन्सार नाकाहरूमा दसैं लक्षित सामानको आयातमा उल्लेख्य वृद्धि भएको छ । 

चाडपर्वको लागि आवश्यक पर्ने विभिन्न उपभोग्य वस्तुहरू भित्रिने क्रम बढेको हो ।

नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलका अनुसार भन्सार नाकामा दसैं लक्षित सामानको आयात बढेको छ । विशेष गरेर  खाद्यवस्तु, लत्ताकपडा र इलेक्ट्रोनिक सामानको आयात बढेको हो । 

उनी भन्छन्, ‘अघिल्लो वर्षको सोही अवधिको तुलनामा आयातमा केहि कमि आएपनि समग्रमा उल्लेख्य रहेको छ । बिचमा भएको आन्दोलनले केही दिन भन्सार बन्द हुँदा आयात कम भएको भए पनि अहिले आयातमा तीव्र वृद्धि भएको छ ।’ 

दसैंमा सामानको माग उच्च हुने भएकोले व्यापारीहरूले अग्रीम रुपमानै सामानको आयात गरिसकेको उनी बताउँछन् । 

उनका अनुसार विशेष गरेर दाल, चिनी, तेल लगायत खाद्यान्नका साथै तयारी पोशाक र विद्युतीय सामग्रीको आयात उच्च छ । 

यसैगरी महेशपुर भन्सार कार्यालयले पनि दसैं लक्षित सामानको आयात तिव्र भएको जनाएको छ । कार्यालयको प्रमुख विकास उपाध्यायका अनुसार केहि दिन नाका बन्द भएको हुँदा आयातमा समस्या आएको थियो । 

तर अहिले नाका सामान्य हुँदा आयात तिव्र भएको हो । उनका अनुसार महेशपुर भन्सार नाकाबाट पनि खाद्यान्न, लत्ताकपडा र अन्य घरायसी सामानको आयात बढी हुने गरेको छ । 

चाडपर्वको धेरै खपत हुने वस्तुको आयात बढी हुनु स्वभाविक भएको बताउँदै उनी भन्छन्, ‘हामीले आयात सहज गर्नको लागि आवश्यक वातावरण मिलाएका छौँ ।’ 

दसैंको समयमा दैनिक उपभोग्य वस्तुहरूको माग उच्च हुने गर्छ । दसैंमा उपभोक्ताहरूले नयाँ लुगाफाटा, मिठाई विभिन्न प्रकारका घरायसी वस्तुहरूको खरिद बढी गर्ने गर्छन । यही मागलाई पुरा गर्नको लागि व्यापारीहरूले दसैं अगाडि देखि नै आयातमा तिव्रता दिने गर्छन । 

दसैं नजिकिदैं गर्दा बजारमा चहलपहल पनि बढ्दै गएको छ । आयातमा भएको यो वृद्धिले अर्थतन्त्रमा सकारात्मक असर पर्ने अर्थविद् डिल्लीराज खनालको भनाइ छ । भन्सार शुल्कले सरकारको राजस्व संकलनमा वृद्धि हुनेछ । 

काठमाडौँका मुख्य व्यापारीक केन्द्र न्युरोड, असन, भृकुटिमण्डप क्षेत्रका व्यापारीहरूलाइ भ्याई नभ्याई छ । न्यूरोडका व्यापरी सुजन ताम्राकार भन्छन्, ‘आजभोली किनमेलको लागि आउने मानिसहरूको संख्या बढ्दै गएको छ ।’ उनका अनुसार दसैं लक्षित किनमेल बढ्दै गएको छ । 

यस्तै अर्का व्यापारी फोमस भण्डारीका अनुसार यो वर्षको दसैंका लागि आवश्यक पर्ने सबै सामानहरूको आयात भइसकेको छ । चीनतर्फका नाकाहरू बन्द भएपनि पहिले नै भारतबाट आयात गरेकोले सहज भएको भण्डारी बताउँछन् । 

‘हामीले दसैंको लागि पर्याप्त मात्रामा सामान ल्याएका छौँ । आन्दोलनको कारणले गर्दा केहि समय ढिला भएपनि अहिले ग्राहकहरूको चहलपहल बढेको छ,’ उनी भन्छन् ‘दशै लक्षित किनमेलको कारण बजारमा उत्साह देखिएको छ ।’ 

व्यापारी अन्जु जोशीले पनि आन्दोलनले बन्द हुने ठानेको व्यापार चलायमान भएको बताइन् । उनी भन्छिन्, ‘पछिल्ला केहि दिनदेखि ग्राहकहरू आउने क्रम विस्तारै बढेको छ । विशेष गरेर कपडा र घरायसी सामानको माग धेरै बढेको छ ।’ 

आन्दोलनले व्यापार थलिने दुखमा रहेका व्यापारी विस्तारै बढेको चहलपहलले खुसी देखिएका छन् । बजारमा उपभोक्ताहरू पनि दसैंको लागि आवश्यक सामान किनमेल गर्न उत्साहित देखिएका छन् । 

तर चीनतर्फका मूख्य दई नाकाहरू रसुवागढी र तातोपानी बन्द हुँदा धेरै व्यापारीहरू चिन्तामा छन् । चीनबाट मगाएको सामान बिच बाटोमै रोकिँदा धेरै व्यापारीहरूको सामान अलपत्र परेको छ । जसले गर्दा व्यापारीहरू पुरानो सामान बेच्न बाध्य भएका छन् । 

भृकुटीमण्डपका एउटा व्यापारी नाम नबताउने सर्तमा भन्छन्, ‘सामान नाकामानै रोकिएको छ, पुरानो सामान बेच्नुपर्ने अवस्था आएको छ । अरु व्यापारीहरूसँग किन्न पनि दसैंको समयमा कसैले पनि दिदैन । अहिलेको दशैको लागि ल्याएको सामान अर्को दसैंमा बेच्नुपर्ने अवस्था देखिएको छ ।’ 

उनी दुखेसो पोख्दै भन्छन्, ‘लामो समयसम्म गोदामको भाडा, बैंकको ऋण लगायतको खर्च तिर्न बाध्य भएको छौँ । जसले गर्दा ठुलो घाटा लाग्ने देखिएको छ । 

विगत लामो समयदेखि नेपाल चीन व्यापार नाका अवरुद्ध भएको कारणले गर्दा व्यापारीहरूले विकल्पको रुपमा भारतबाट सामान आयात गरिसकेको अवस्थामा अभाव हुने अवस्था नदेखिएको हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्की बताउछन् ।

 

प्रकाशित मिति: १३ आश्विन २०८२, सोमबार  १३ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।