दसैं र मासु

यस्ता बिरामीका लागि विष बन्छ मासु, यी हुन् मासु खाने सही तरिका


काठमाडौं । नेपालीहरुको सबैभन्दा ठूलो चाड हो दसैँ । दसैँमा नयाँ कपडा लगाएर मिठो परिकार खाने परम्परा छ ।

मिठो परिकारसँगै जोडिन्छ मासु । अष्टमीको दिन घरघरमा खसी काटेर नवदुर्गा भवानीलाई चढाउने प्रचलन रहेको छ । दसैँमा खसी काट्ने प्रचलन नै हो भन्दा फरक पर्दैन किनभने हाम्रो समाजमा खसी बिना दसैँ चल्दैन भन्ने धारणा बसिसकेको छ ।

केहीले भने अहिले दसैँमा पशु बलीको सट्टा कुभिण्डो बली दिएर पनि दसैँ मान्ने गरेको देखिएको छ ।

जे होस्‌ पुस्तौनी चलचलन अनुसार अष्टमीमा खसी नकाटी दसैँ आउँदैन भन्नेहरु कुराले समाजमा जरो नै गाडेर बसेको पाइएको छ । यतिसम्म कि दसैँलाई मासु कै पर्वका रुपमा पनि लिइन्छ ।  मासु र चिउराको विषेश पर्व नै दसैं हो ।

त्यसो त खसीको मासुका धेरै फाइदाहरु छन् ।  खसीको मासुमा पाइने प्रमुख पोषक तत्त्व भनेको प्रोटिन हो ।

स्वास्थ्यविद्हरूका अनुसार, हामीले एक छाकमा खाने खसीको मासुले हाम्रो शरीरलाई दैनिक जरुरी हुने मध्येको ३०% भिटामिन–बी पूर्ति गरिदिन्छ। 

बी समूहका भिटामिनहरू (बी–१,बी–२, बी–३, बी–९, बी–१२), भिटामिन–ई, भिटामिन–के, प्रोटिन, प्राकृतिक बोसो आदि खसीबोकाको मासुमा हुने विशेष प्रकारका औषधीय मूल्यका तत्त्वहरु हुन्। भिटामिनबी–१२ शरिरमा  स्वस्थ रातो रक्तकोषहरू उत्पादन गर्न मद्दत गर्छ भने भिटामिन बी–१२ ले मानिसमा तनाव घटाउन तथा डिप्रेसन कम गर्न मद्दत गर्ने गर्दछ।    

तर, मासु खानु अघि धेरै कुरामा ध्यान पुर्‍याउनु आवश्यक हुन्छ ।

यस्ता बिरामीले खानु हुँदैन मासु  

खसीको मासुमा पाइने फ्याट र प्रोटिनले शरीरमा एसिड र शरीरलाई नचाहिने कोलेस्टेरोलको मात्रा बढाउँछ ।

मधुमेह, कोलेस्टेरोल, युरिक एसिड, उच्च रक्तचाप, मिर्गौलाको समस्या, पायल्स र फिस्टुला जस्ता समस्या भएका व्यक्तिले खसीको मासु खानु हुँदैन । 

साथै मोटोपन भएका व्यक्तिले पनि खसीको मासु नखाँदा राम्रो हुन्छ । यसमा क्यालोरी बढी हुने भएकाले मोटोपन झन् बढ्न सक्छ ।

रातो मासुमा प्युरिनको मात्रा बढी हुन्छ । युरिक एसिडको बिरामीले खसीको मासु खायो भने शरीरमा एसिडको मात्रा बढ्छ र थप समस्या हुन सक्छ ।

मधुमेह, कोलेस्टेरोल र युरिक एसिडको समस्या भएकाले पनि खसीको मासु खानुहुँदैन । 

मासुमा भएको बोसो रक्तनलीमा जमेर रक्तसञ्चारलाई प्रभाव पार्न सक्छ । रक्तसञ्चार राम्ररी हुन पाएन भने मुटुलाई प्रेसर पर्छ । मुटुलाई प्रेसर धेरै भएपछि रक्तचाप पनि बढ्छ ।

खसीको मासुमा प्रोटिनको मात्रा धेरै हुन्छ, जसले गर्दा युरिक एसिडको बिरामीले पनि खानु हुँदैन ।

पायल्स फिस्टुलाको बिरामीले कब्जियत गराउने खानेकुरा खानु हुँदैन । 

खसीको मासुमा बोसो र प्रोटिन बढी भएकाले गर्दा यसले कब्जियत भएर दिसा गर्न समस्या हुन सक्छ । त्यसैले पायल्सको बिरामीलाई पनि मासु नखाने नै सल्लाह दिइन्छ ।

यस्ता छन् खसीको मासु खान नजान्दा हुने बेफाइदा

मासु स्वास्थ्यका लागि राम्रो भएतापनि तारेको, भुटेको, फ्राई गरेको तथा धेरै चिल्लो पदार्थ भएको मासुले शरीरमा फाइदा गर्दैन । यस्तो मासुले ‘कोलेस्ट्रोल’ बढाउने गर्दछ ।

तारेको, भुटेको र पोलेको मासु पोषणका दृष्टिकोणबाट लाभ नभई स्वादका लागि मात्रै हुन्छ ।

पोलेको, भुटेको तथा तारेको मासु धेरै निरन्तर खाँदा रक्तनली फुटेर बेहोस हुने, मस्तिष्कमा रगत जम्ने, हृदयाघात हुने, मिर्गौलाले छान्ने–पुनः सोस्ने प्रक्रिया नगर्ने जस्ता समस्या हुने हुन्छ । 

शरीरका शिरा र धमनी साँघुरिँदै जान्छन्। मस्तिष्कको रक्तनलि फुटेको खण्डमा पक्षाघात हुन्छ आँखा अन्धोपना पनि हुन्छ।

तारेको भुटेको, पोलेको मासु धेरै खायो अपज हुनुका साथै क्यान्सरको जोखिम हुने चिकित्सक बताउँछन्। बासी मासु खाँदा फुडफोइजनको जोखिम हुन्छ ।

मासु खाने सही तरिका

मासुसँगै हरियो सागपात, दाल तथा फलफूल पनि खानुपर्ने हुन्छ  । 

सही तरिकाले मासु खाँदा शरीरलाई फाइदा पुग्छ भने सही तरिकाले खाइएन भने मासु शरीरको लागि विष पनि बन्छ । 

मासुसँगै सागसब्जी, मुला, गाँजर, सिमी, स्कुस, फर्सी, चिचिन्डा, लौकाजस्ता फाइबरयुक्त खानपान गर्नुपर्छ ।

 

प्रकाशित मिति: १५ आश्विन २०८२, बुधबार  १३ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।