काठमाडौं । नेपालीहरूको महान पर्व दसैं । दसैंलाई मिठो मसिनो खाने, नयाँ लुगा लगाउने, पारिवारिक जमघट हुने र एकअर्कामा सुखदुःख साटासाट गर्ने उत्सवको रुपमा लिइन्छ ।
यो समय फुर्सदको समय हो । सरकारले नै दसैं मनाउन ५ दिनको बिदा दिएको हुन्छ । कामका लागि मुग्लान पसेका र काम विशेषले सहर छिरेकाहरू समेत दसैं सम्झेर आफ्नै गाउँ फर्कन्छन् । गाउँमा खसी काट्ने, पिङ हाल्ने जस्ता कार्यक्रमले मन नै आनन्दित बनाउँछ ।
यस्तो हुन्छ उद्यमी व्यवसायीको दसैं
यसपाली दसैंको उमंग छैन : गोल्ड स्टार विदुषी राणा
दसैं भन्ने बितिक्कै पारिवारिक जमघट भन्ने आउँछ । दसैको समयमा मौसम पनि प्रतिकुल हुन्छ जसले यसैपनि रमाइलो बनाउँछ । आकाशमा चंगा उडिरहेको, लिंगे पिङ, रोटे पिङले झनै दसैं आएको आभाष दिलाउँछ ।
अझै बाल्यकालमा दसैं रमाइलो हुन्छ । नयाँ लुगा, मिठो परिकार, दक्षिणाले दसैंलाई निकै रमाइलो भएको जस्तो हुन्थ्यो । एक महिनादेखि नै दसैं आउन लाग्यो भनेर खुसी भइन्थ्यो । अहिले त्यस्तो छैन । अहिले दसैंमा त्यस्तो खास नभए पनि पारिवारिक जमघटमा नै रमाउने गरिन्छ ।
यसपाली चाहीँ मन खुम्चिएको छ, जेनजी आन्दोलनमा सहिद हुनु भयो । जसले गर्दा यसपाली दसैंको उमंग खासै छैन ।
दुखहरू बिर्सिएर परिवारसँग सुख साट्ने पर्व हो दसैं : अनुप बराल (नाडा)
म दसैं काठमाडौँ र चितवनमा मनाउँछु । दसै मेलमिलापको पर्व हो । काठमाडौँमा टिका लगाइसकेपछि हाम्रो परिवार आमाको हातबाट टिका र आर्शीवाद थाप्न चितवन जान्छौँ । दसैंमा आफ्ना सबै दु:खहरू बिर्सिएर परिवारसँग सुख साट्ने गरिन्छ ।
दसैं त बाल्यकालमा अझै बढी रमाइलो हुन्थ्यो । बाल्यकालमा जिम्मेवारी थिएन । जति उमेर बढ्दै गयो त्यति नै व्यवहार बढ्छ, जिम्मेवारी बढ्छ । बाल्यकालमा लंगुर गुच्चा, पिङमा रमाइथ्यो, चंगामा रमाइथ्यो । मामा घर जाने भनेपछि छुट्टै रमाइलो लाग्थ्यो । तर अहिले दसैं त्यस्तो रमाइलो छैन । तर पनि दसैं दसैं नै हो । अहिले पनि जिम्मेवारीमा नै रमाइन सिकिने रैछ । रमाइलै हुन्छ ।
पारिवारिक वातावरणमा नै दसैं मनाइन्छ : अञ्जन कुमार श्रेष्ठ ( वरिष्ठ उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघका )
दसैंको वास्तविक रमाइलो र उमंग त बच्चा बेलाकै हो । जति रमाइलो बाल्यकालमा हुन्थ्यो त्यो रमाइलोपन अहिले कमै हुन्छ ।
दसैंमा चङ्गा उडाउने, पिङ खेल्ने र दक्षिणाकै लागि टीका थाप्न कुद्ने त्यो रमाइलो बालापन अहिले छैन । तर, अहिले पनि दसैंमा छुट्टै रमाइलो हुन्छ ।
गत वर्षहरूमा जस्तै यस वर्षको वडा दसैं पनि पारिवारिक वातावरणमा नै मनाइन्छ । पोहोरको भन्दा खासै फरक योजना त केही छैन । दसैंमा पुर्ख्यौली घर पोखरामा सब दाजुभाइ दिदीबहिनी जम्मा भएर रमाइलो गर्ने हो ।
म शुद्ध शाकाहारी भएकाले माछा मासु चल्दैन, सबै शाकाहारी भोजन गरिन्छ । दसैंमा रमाइलोकै लागि दाजुभाइ बसेर सामान्य तास खेल्ने रमाइलो गर्ने हो । दसैंमा नवदुर्गाको पूजा आराधना गरेर रमाइलो गर्दै मेरो दसैं बित्छ ।
दसैं आफूलाई उर्जाशील बनाउने समय हो : विनायक शाह, होटल संघ नेपालका अध्यक्ष
दसैं काठमाडौँमा नै मनाइन्छ । दसैं भन्ने बित्तिकै आफ्नो कामलाई पर राखेर परिवारलाई समय दिने बेला हो । दसैं भनेको सबै चिन्ता बिर्सिएर आफुलाई उर्जाशील बनाउने समय हो ।
बाल्यकालमा बुबा आमाले सबै कुरा पुर्याइदिनु हुन्छ । त्यतिबेला साइकल चड्नु नै ठुलो खुसी हुन्थ्यो । भोलीको चिन्ता हुँदैन थियो । बाल्यकाल त गोल्डेन समय हो । त्यतिबेला दसैं अलि बढी रमाइलो हुन्थ्यो ।
यसपाली देशको असामान्य परिस्थिति छ । जिम्मेवारी बढी छ । होटल क्षेत्रमा धेरै समस्या छ । सरकारले पनि दिन रात नभनी काम गरिरहेको छ । हामी निजी क्षेत्रले पनि त्यसैगरी काम गर्नुपर्ने अवस्था छ ।
पूजापाठमा समय बित्छ : भवानी राणा (पूर्व अध्यक्ष,नेपाल उद्योग वाणिज्य महासंघ)
दसैंमा परिवारसँग बस्ने, भेटघाट गर्नेसँगै पूजापाठलाई प्राथमिकतामा राख्ने गरिन्छ । घटस्थापनादेखिनै दैनिक रुपमा ब्रत बस्ने, पूजापाठ गर्ने गरेको छु। त्यसैले पनि दसैं मेरो लागि विशेष हुन्छ । पहिलादेखि पुरोहितद्वारा घरमा पूजा गर्ने प्रचलन छ । दसैंमा चण्डिपाठ हुन्छ । हामी दसैंको नौरथादेखि नै चोखो भएर बस्ने, नौरथा पूजा गर्ने गर्छौँ । यसै अनुसार नै मनाइन्छ दसैं ।












प्रतिक्रिया