काठमाडौँ । पछिल्लो समय नेपाली बजारमा सुनचाँदीको अभाव देखिएको छ भने मूल्य पनि उच्च रहेको छ । सुनको मूल्य झन बढ्ने आशाले बजारमा माग बढ्न थालेपछि सुनको अभाव सुरु भएको हो ।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य आकाशिएकाले नेपाली बजारमा पनि सुनचाँदीको मूल्य उच्च हुन पुगेको हो ।
पछिल्लो समय सुनको मूल्य अत्याधिक मात्रामा आकासिए पनि बजारमा सुनचाँदीको माग उच्च रहेको छ । सिमित परिमाणमा सुन आयात गर्नु पर्दा सुनचाँदी व्यवसायीहरुले ग्राहकहरुको मागअनुसार सुनका गहरगहनाहरु दिननसकेको व्यापारीहरु बताउँछन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाईलीले सुनचाँदीको कारोबार चलायमान हुने समयमा बजारमा सुनचाँदीको अभाव भएकाले व्यवसायीहरु मारमा रहेको बताए ।
अध्यक्ष रसाईलीले बजारमा सुनचाँदीका गरगहना बनाउने कच्चापदार्थ अभाव रहेकाले ग्राहकहरुको मागअनुसार बजारमा सुनचाँदी दिन सक्ने अवस्था नभएको बताए ।
उनले भने,‘चाडपर्वहरु एकपछि अर्कोआएतापनि सुनचाँदीको कारोबार बढ्ने समयमा व्यवसायीहरु मारमा परेका छन् । माग बढेको र आयातको परिमाणमा कोटा निर्धारण गरिएका कारण अभावको अवस्था सिर्जना भएको उनको भनाइ छ ।
‘अहिले दैनिक २० किलो भन्दा सुन ल्याउन पाइँदैन, तर बजारमा माग धेरै छ । मूल्य बढेपछि सुन बेच्नेको संख्या पनि घट्यो,’ अध्यक्ष बराईली भन्छन् । चाडपर्वको समयको लामो समय सार्वजनिक विदा हुँदा दैनिक सुन आयात नहुँदा अभाव हुन गएको हो सबै बैंकले सुन आयात गर्न सकेन अब हामीले थप ४ वटा बैंकबाट सुन आयातका लागि सम्झौता गरेका छौँ अब बजारको माग अनुसार आयात हुन्छ ।
पछिल्लो समय अमेरिकी अर्थतन्त्रमा देखिएको सुधार र सेयर बजारको वृद्धिले गर्दा सुन बजारमा प्रभाव परेको विश्लेषकहरुको भनाई छ । जसले गर्दा विश्वबजारमै सुनको माग बढिरहेको अनुमान गरीएको छ । यस्तै, अमेरिकी डलर मजबुत बन्दै जानु, चीनले सुन भण्डारण बढाउनु लगायतका कारणले पनि सुनको भाउ अन्तर्राष्ट्रिय बजारमा नै बढेको विश्लेषकहरुको भनाई छ ।
विश्व बजारमा सुनको माग बढेसँगै यसको भाउ पनि बढेको हो । मानिसहरु अन्य लगानीका क्षेत्र छोडेर सुन किनेर राख्ने मनस्थितीमा पुगेको र बजारमा सुनको माग ह्वात्तै बढेको छ ।
अमेरिकी डलरमा आउने उतरचढावले सुनको मूल्यमा प्रत्यक्ष असर पार्ट तर यसपटक डलरको भाउले मात्रै सुन महँगो बनाएको होइन । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य उकालो लाग्नुमा राजनीतिक अनिश्चितता बढ्नुलाई पनि कारण मानेका छन् ।
पछिल्लो समय अमेरिकी राष्ट्रपति ट्रम्पले विश्वका अधिकांश देशमाथि कर बढाएका छन् । जसले वैद्धिक अर्थतन्त्रमा तरंग ल्याएको छ । त्यससँगै ट्रम्पले अमेरिकी केन्द्रिय बैंक फेडरल रिजर्भमाथि गरेको पछिल्लो हस्तक्षेपले पनि सुनको मूल्य बढिरहेको विश्लेषण गरिएको छ ।
एक वर्षमा तोलामा ७५ हजारले बढ्यो
पछिल्लो एक वर्षको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सो अवधिमा सुनको मूल्यमा प्रतितोला ७५ हजार ९०० रुपैयाँले वृद्धि भएको छ।
गत वर्ष २०८१ असोज २४ गते नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार १०० रुपैयाँ कायम भएको थियो । महासंघले आज असोज २४ गते सुनको मूल्य प्रतितोला २ लाख ३५ हजार रुपैयाँ निर्धारण गरेको छ ।
त्यसैगरी, चाँदीको मूल्य पनि एक वर्षमा तोला १ हजार १८५ रुपैयाँले बढेको छ । गतवर्ष सोही समयमा १ हजार ९०० रुपैयाँमा कारोबार भएको चाँदी हाल ३ हजार ८५ रुपैयाँमा किनबेच भएको छ ।












प्रतिक्रिया