काठमाडौँ । भदौ २३ र २४ को जेनजी आन्दोलनमा सहिद भएकाहरूको सम्मानमा गोल्यान ग्रुपले सहयोग कार्यक्रम घोषणा गरेको छ । ग्रुपले सहिदका दाजुभाइ–दिदीबहिनी र सन्तानको अध्ययन तथा उज्ज्वल भविष्यको लागि १२ कक्षासम्म निःशुल्क शिक्षाको प्रबन्ध गरिदिने घोषणा गरेको हो । छात्रवृत्ति कार्यक्रममा सामेल बालबालिकाको रुचि र क्षमताअनुसार अतिरिक्त क्रियाकलापमा आवश्यक सहायता प्रदान गरिदिने पनि घोषणा गरेको छ ।
यसैगरी सहिदका आमा–बुबाका लागि स्वास्थ्य मिमामार्फत उनीहरूको दीर्घकालीन स्वास्थ्य र सुरक्षा सुनिश्चित गरिदिने पनि योजना ल्याएको छ । सहयोगले सन्तान गुमाएको पीडा मेटाउन नसक्ने भन्दै ग्रुपले यस क्षणमा पीडित परिवारसँग हातेमालो गर्न चाहेको बताएको छ ।
“कुनै पनि सहयोगले सन्तान गुमाएको पीडा मेटाउन सक्दैन । तर, यस क्षणमा पीडित परिवारसँग हातेमालो गरेर हामी दुःखमा साथ दिन चाहन्छौँ । यो कुनै परोपकार मात्र होइन, साझा जिम्मेवारी र सहानुभूतिसहितको प्रतिबद्धता हो । परिवर्तनका लागि उभिएका ती युवाहरू एक्ला थिएनन् र उनका परिवारहरू पनि अब एक्ला रहने छैनन् भन्ने बलियो सन्देश पनि हो,” गोल्याण ग्रुपद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
गोल्याण ग्रुपले प्रत्येक प्रभावित परिवारको गोपनीयता र मर्यादालाई उच्च प्राथमिकता दिने पनि बताइएको छ । उनीहरूको पीडा नितान्त व्यक्तिगत भएको भन्दै कुनै पनि नाम वा तस्बिर सार्वजनिक नगर्ने निर्णय गरेका पनि विज्ञप्तिमा उल्लेख छ । “हामीले सबै सहिद परिवारसँग सम्पर्क गरी उहाँहरूलाई सहयोग कार्यक्रममा जोडिरहेका छौँ,” विज्ञप्तिमा भनिएको छ ।












प्रतिक्रिया