सुनसरी । करिब नौ वर्षसम्म नेपाल प्रहरीमा सेवा दिएका भरत कार्कीले सरकारी जागिर छाडेर कृषि व्यवसायमा हात हालेपछि अहिले एक सफल उद्यमीका रूपमा स्थापित भएका छन् । सानो लगानीबाट सुरु गरिएको उनको व्यवसाय आज करोडौँ रुपैयाँको कृषि उद्यममा रूपान्तरण भएको छ ।
विसं २०३६ मा ओखलढुङ्गामा जन्मिनुभएका कार्की २०५७ सालदेखि सुनसरी जिल्लाको रामधुनी नगरपालिका–५ मा स्थायी बसोबास गर्दै आएका छन् । प्रहरी सेवाबाट राजीनामा दिएपछि उनी २०६३ सालमा वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए ।
करिब तीन वर्ष मलेसियामा श्रम गरेर फर्किएपछि नेपालमै केही गर्नुपर्छ भन्ने सोच बनाउँदै उनले लामो समय मासुपसल सञ्चालन गरे । सोही अनुभवका आधारमा कृषि तथा पशुपालन व्यवसायमा सम्भावना देखेर व्यावसायिक रूपमा अघि बढ्ने प्रेरणा मिलेको उनले बताए ।
विसं २०७० मा ‘सुनसरी एग्रो मिक्स फार्म’ स्थापना गर्नुभएको उनले २०७४ सालमा पुनः ‘झुम्का अर्गानिक कृषि फार्म’ दर्ता गरे । हाल उनले झण्डै चार बिघा क्षेत्रफलमा आधुनिक शैलीमा सुँगुर, कुखुरा र बाख्रापालन गर्दै आएको छ । साथै, अन्य चार बिघा जमिनमा धान, मकैलगायत अन्नबालीसमेत गर्दै आएका छन् ।
विदेशमा काम गर्दा धेरै मेहनत गरेर कमाए पनि खासै बचत नहुने अनुभव सुनाउँदै उनले भने, “त्योबेला लाग्थ्यो आफ्नै देशमा पसिना बगाएर काम गर्दा त्यसको प्रतिफल पनि आफ्नै हातमा पर्छ ।” त्यही सोचले तीन वर्षको वैदेशिक बसाइपछि स्वदेश फर्केर व्यवसाय सुरु गरे । कार्कीले भने, “व्यवसाय सुरु गर्दा विभिन्न सानातिना चुनौतीको सामना गर्नुपरेको थियो । ‘‘पशुपालनसम्बन्धी प्राविधिक ज्ञान थिएन, बजारको अवस्था पनि स्थिर नहुनु कहिले राम्रो उत्पादन हुन्थ्यो, तर बिक्री मूल्य नपाइने समस्या थियो”, उनले भने, “तर सिक्दै जाँदा व्यवसायमा टिकाउपन आयो । परिवारको साथ र सहयोगले पनि धेरै सहज भयो ।”
उनले सुरुमा दुई/तीन सय लेयर्स कुखुराबाट व्यवसाय थालनी गरेका थिए । विस्तारै सुँगुर र बाख्रापालनतर्फ पनि लगानी विस्तार गर्दै गए। अहिले फार्ममा करोडौँको लगानी भइसकेको उनले बताए । तालिमबिनै व्यवसाय सुरु गरे पनि काम गर्दै जाँदा सिके उनले भने, “विभिन्न स्रोतबाट तालिम लिँदै आधुनिक कृषि प्रणालीको ज्ञान प्राप्त गरेँ । अहिले व्यवसाय सन्तोषजनक छ ।”












प्रतिक्रिया