काठमाडौं । नेपाल राष्ट्र बैंकले हिमालयन बैंकमा रहेको हबिब बैंकको सेयर बिक्री गर्न स्वीकृति दिएको छ । नेसनल लाइफ इन्स्योरेन्सले हिमालयन बैंकमा बुझाएको प्रस्ताव राष्ट्र बैंकले स्वीकार गरेको हो ।
नेसनल लाइफले हबिबका नाममा रहेको दुई करोड ८० लाख १२ हजार ४४७।४५ कित्ता हिमालयन बैंकको सेयर प्रतिकित्ता ११८।८८ रुपैयाँमा खरिद गर्न लागेको हो । नेसनल लाइफले तीन अर्ब ३३ करोड एक लाख १९ हजार ७५२ रुपैयाँ ४५ पैसामा उक्त सेयर खरिद गर्न लागेको छ ।
हाल हिमालयन बैंकको कुल २२ करोड ५८ लाख १६ हजार ६२७ कित्ता सेयर जारी छ । त्यस नेसनल लाइफको १.२५ प्रतिशत अर्थात् २८ लाख २२ हजार ७०८ कित्ता सेयर छ । हबिबको सेयर खरिदपछि नेसनल लाइफको अंश १४.१८ प्रतिशत अर्थात् तीन करोड आठ लाख ३५ हजार १५५।३ कित्ता पुग्नेछ ।
हिमालयन बैंकले गएको जेठ ३० गते ३५ दिने सूचना जारी गरी हबिबका नाममा रहेको संस्थापक सेयर खरिद गर्न संस्थापक सेयरधनीबाट प्रस्ताव आह्वान गरेको थियो । सूचनामा बैंकको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११२ रुपैयाँ ८० पैसा तोकिएको थियो ।
पाकिस्तानी हबिब बैंकका नाममा रहेको सेयर नेसलन लाइफले खरिद गर्न हिमालयनलाई पत्र पठाएको थियो । यो सहमतिका निम्ति हिमालयनले राष्ट्र बैंकमा प्रस्ताव पठाएको थियो ।












प्रतिक्रिया