काठमाडौँ । नेपालमा विदेशी पर्यटकले गर्ने खर्चभन्दा नेपालीहरुले विदेश भ्रमणमा जाँदा गर्ने खर्च ४ गुणा बढी रहेको पाइएको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२÷८३ को २ महिनामा विदेशी पर्यटकहरुले नेपालमा ११ अर्ब ५८ करोड ४३ लाख रुपैयाँ रकम खर्च गरेका छन् । सोही अवधिमा विभिन्न उद्देश्यका लागि विदेश गएका नेपालीले विदेशी मुलुकमा ४७ अर्ब ३१ करोड १० लाख रुपैयाँ खर्च गरेका छन् ।
गत आर्थिक वर्ष २०८१-८२ को सोही अवधिमा विदेश घुम्न जाने नेपालीले ४३ अर्ब १७ करोड ८१ लाख रुपैयाँ खर्चिएका थिए । सो अवधिमा नेपाल आउने पर्यटकले १० अर्ब ५५ करोड ४२ लाख रुपैयाँ मात्रै खर्चिएको तथ्यांक छ ।
त्यसैगरी आर्थिक वर्ष २०८०-८१ को सो अवधिमा विदेश घुम्न जाने नेपालीले ३५ अर्ब ५९ करोड ४१ लाख रुपैयाँ खर्चिएका थिए । सो अवधिमा नेपाल आउने पर्यटकले ९ अर्ब ३९ करोड ७५ लाख रुपैयाँ मात्र खर्च गरेका थिए ।
नेपाली नागरिकले यो रकम विदेश घुम्न, अध्ययन गर्न, उपचार गर्न लगायत अन्य शीर्षकमा खर्च गर्ने गरेको राष्ट्र बैंकले जनाएको छ । यसले देशको सेवा व्यापार घाटा अझ गहिरिँदै गएको देखाएको छ ।
बैंकले सार्वजनिक गरेको तथ्यांक केलाउँदा पछिल्लो २ महिनामा नेपालले ३५ अर्ब ७२ करोड ६७ लाख रुपैयाँ सेवा व्यापार घाटा व्यहोरेको देखिन्छ ।
पढ्न जानेले खर्चिए धरै रकम
राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पछिल्लो २ महिनामा नेपालीले विदेशी मुलुकमा ४६ अर्ब ९२ करोड २९ लाख रुपैयाँ व्यक्तिगत खर्च गरेका छन् । जसमध्ये सबैभन्दा बढी शिक्षामा ३२ अर्ब ७५ करोड ९८ लाख रुपैयाँ खर्च गरेका छन् भने उपचारमा ४० करोड रुपैयाँ खर्च गरेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । यस अवधिमा १४ अर्ब १२ करोड २६ लाख रुपैयाँ अन्य शीर्षकमा खर्च गरेको देखिन्छ । त्यस्तै, व्यवसायिक यात्रामा ३८ अर्ब ८१ करोड रुपैयाँ खर्च गरेका छन् ।
सोही अवधिमा विदेशी पर्यटकले नेपालमा ११ अर्ब ५७ करोड ७५ लाख रुपैयाँ व्यक्तिगत खर्च गरेका छन् । जसमा ८ करोड ४६ लाख स्वास्थ्य सम्बन्धी सेवामा खर्च गरेका छन् भने ४६ करोड ४६ लाख रुपैयाँ शिक्षामा खर्च गरेका छन् । त्यस्तै, ११ अर्ब २ करोड ८३ लाख रुपैयाँ अन्य शीर्षकको सेवा खरिदमा खर्च गरेका छन् ।
नेपालीको विदेश खर्च बढ्नुका कारण
नेपालमा पर्याप्त रोजगारीका अवसर नहुनु र गुणस्तरीय शिक्षाका लागि उपयुक्त विश्व विद्यालयतथा शिक्षण संस्थाहरुको अभावले गर्दा ठुलो संख्यामा युवाहरु अध्ययन र कामको खोजीमा विदेशिने गरेका छन् । यसका साथै गुणस्तरीय स्वास्थ्य उपचारका लागि पनि धेरै नेपालीहरु विदेश जाने गरेका छन् ।
‘पछिल्लो समयको तथ्यांकले सबैभन्दा बढी रकम विद्यार्थीहरूले लाने गरेका छन् । नेपालमा राम्रा विश्वविद्यालय नभएको र उचित पढाइ नहुने र पढेअनुरूप जागिर नपाउने हुँदा उच्च शिक्षाका लागि नेपालबाट बर्सेनि ठूलो रकम बाहिरिने गरेको विज्ञहरु बताउँछन् ।
पर्यटन नेपालका लागि विदेशी मुद्रा आर्जन गर्ने एक प्रमुख माध्यम भनिए पनि पर्यटन क्षेत्रको विकासमा आवश्यक ध्यान पुग्न सकेको छैन । पर्यटक आएपनि लामो समय बस्दैनन् र उनीहरूले गर्ने खर्च निकै कम छ । संख्यात्मक हिसाबले पर्यटकको संख्या बढे पनि, पर्यटनको गुणात्मक वृद्धि हुन सकेको छैन ।
नेपालमा पर्यटकको बसाइ छोटो हुनु, पर्यटकले खर्च कम गर्नु जस्ता कारणले पनि नेपालको सेवा व्यापार ऋणात्मक देखिने गरेको जानकारहरु बताउँछन् ।
अधिकांश विदेशी पर्यटक ट्रेकिङ वा सांस्कृतिक अवलोकनका लागि नेपाल आउँछन्, र आफ्नो निश्चित कार्यक्रम सकिएपछि तत्काल फर्किन्छन् जस कारण नेपालमा विदेशीहरुले कम खर्च गर्छन् । तर सरकारले पर्यटन क्षेत्रको विकास प्रवद्र्धन र प्रचारप्रसारमा ध्यान दिन सकेको छैन् । पर्यटन क्षेत्रमा पूर्वाधारको कमी लगायत कारणले गर्दा विदेशी पर्यटकहरुको नेपाल बसाई छोटो हुने गरेका यस क्षेत्रका जानकारहरु बताउँछन् । जसको कारण नेपालको सेवा व्यापार बर्सेनि ऋणात्मक हुने गरेको उनीहरुको तर्क छ ।
नेपालले विदेशी मुद्राको सञ्चिति बढाउन र सेवा व्यापार घाटा कम गर्नका लागि स्वदेशमै रोजगारीका अवसरहरु सिर्जना गर्ने, शिक्षा र स्वास्थ्य क्षेत्रको गुणस्तर सुधार गर्नुपर्ने र पर्यटन क्षेत्रको विकासमा जोड दिनु आवश्यक रहेको छ । यसका सार्थ पर्यटकको बसाई लम्ब्याउने र खर्च बढाउने योजनाहरु खोज्न जरुरी रहेको छ ।












प्रतिक्रिया