काठमाडौँ । पछिल्लो समय अन्तराष्ट्रिय बजारमा सुनचाँदीको मूल्य अत्याधिक रुपमा बढिरहेको छ । यसरी दिनप्रति सुन चाँदीको मूल्यमा बढोत्तरी हुँदा लगानीकर्ताहरु सुन चाँदीमा लगानी गर्न तर्फ आकर्षित भएका छन् ।
अहिलेको समय अत्याधिक मूल्य वृद्धिका कारण साना लगानीकर्ताहरुलाई सुनचाँदीमा लगानी बढाउन कठिन समय हो । विज्ञहरुका अनुसार सुन अत्याधिक किनिएको अवस्थामा चाँदीले पनि सोही गतिलाई पछ्याइरहेको छ । सुनचाँदीको पछिल्लो अन्तराष्ट्रिय वार्षिक मूल्यलाई केलाउने हो भने घट्ने भन्दा बढ्ने मूल्य नै बढी भएको देखिन्छ ।
नेपाली बजारमा सुनको भाउ निरन्तर आकाशिएको अवस्थामा उपभोक्ता र लगानीकर्ता दुवैको ध्यान अब चाँदीतर्फ केन्द्रित हुन थालेको छ । परम्परागत रूपमा सुनलाई सुरक्षित लगानी र गहनाको प्रमुख धातु मानिए पनि यसको अत्याधिक मूल्यवृद्धिका कारण चाँदी एक आकर्षक र पहुँचयोग्य विकल्पका रूपमा उदाएको छ ।
नेपालको सन्दर्भमा भन्ने हो भने अन्तराष्ट्रिय मूल्य घटेको बेला पनि नेपालमा भन्सार मूल्य वृद्धि र नेपाली मुद्राको अवमूल्यनको कारण नेपालमा भने भाउवृद्धि कायमै रहेको देखिएको छ ।
एक हिसाबले नेपालमा सुनचाँदी किन्नु भनेको डलर किन्नु वा सो सरह हो । निरन्तर मुद्रा अवमूल्यन हुने हाम्रो देशमा सुनचाँदीमा घाटा हुने जोखिम धेरै कम छ । अझ लामो अवधिको लागि लगानी गर्ने हो भने घाटा हुने सम्भावना नहुने नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइली बताउँछन् ।
नेपालमा आम उपभोक्ताहरुलाई ढिक्का सुनचाँदी किन्न कानुन अनुसार नपाए पनि थोरै मात्र ज्याला लाग्ने प्रकृतिका गहना किनेर लगानी गर्न सकिने अवस्था भने विद्यमान छ ।
पछिल्लो समय सुनचाँदीको मूल्य क्रमिक रुपमा बढिरहेको छ । जसकारण केही ढिलाई भएपनि लगानीका लागि अझै उपयुक्त समय बाँकी नै रहेको अध्यक्ष रसाइलीको दाबी छ ।
‘सुनचाँदी सधैँ सुरक्षित लगानीका रुपमा रहि आएको छ । यद्यपी कुनै पनि लगानी क्षेत्र पूर्ण रुपमा जोखिमयुक्त हुँदैन । छोटो समयमा मूल्यमा उतारचढाव देखिए पनि दीर्घकालिन रुपमा सुनचाँदीले स्थिर र लाभप्रद प्रतिफल दिने प्रमाणित तथ्यहरु रहेका छन् । जसकारण यसलाई रक्षात्मक लगानी विकल्पका रुपका लिइन्छ,’ रसााइलीले भने ।
विज्ञहरुको सल्लाह अनुसार लगानी गर्न इच्छुकहरुले आफ्नै जोखिम सहनशक्ति, वित्तीय क्षमता र दीर्घकालीन दृष्टिकोणलाई ध्यानमा राखेर सुनचाँदी रोज्नु उपयुक्त मानिन्छ ।
सुनचाँदीको मूल्य घट्ने जोखिम अन्तर्राष्ट्रिय बजारको तुलनामा तुलनात्मक रुपमा कम हुने भएकाले कुल लगानीको १०/२० प्रतिशतसम्म सुनचाँदीमा लगानी गर्नु सुरक्षित र व्यवहारिक मानिने उनको भनाइ छ ।
किन बढ्दैछ चाँदीको आकर्षण ?
अन्तराष्ट्रिय बजारमा नै सुनको सस्तो विकल्प चाँदी मानिएको नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दियेशरत्न शाक्यले बताएका छन् ।
पछिल्लो समय विश्व बजारमा नै चाँदीको माग बढेको छ । यसरी चाँदीको माग बढीरहँदा मूल्यमा पनि उच्च वृद्धि भइरहेको छ । विश्वभरि सोलार प्यानल, ब्याट्री, इलेक्ट्रोनिक्स र स्वास्थ्य उपकरण लगायतका साधनहरुमा प्रयोग गर्ने गरिन्छ । विशेषगरी सौर्य ऊर्जा उद्योगले मात्र वार्षिक रूपमा विश्व उत्पादनको करिब २५ प्रतिशत चाँदी प्रयोग गर्ने गरेको तथ्यांकले देखाउँछ ।
सुनको तुलनामा चाँदीको मूल्य निकै कम हुन्छ, जसले गर्दा मध्यमवर्गीय उपभोक्ताहरूका लागि यो सहज रूपमा उपलब्ध छ । थोरै बजेट हुनेहरूले पनि चाँदीका गहना खरिद गर्न वा यसमा लगानी गर्न सक्छन् ।
यस्तै लगानीकर्ताहरूका लागि चाँदी पोर्टफोलियो विविधीकरणको राम्रो माध्यम बन्न सक्छ । सुनको मूल्यमा आउने उतारचढावलाई सन्तुलनमा राख्न चाँदीले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने विज्ञहरु बताउँछन् । अन्तर्राष्ट्रिय बजारमा पनि चाँदीको माग बढिरहेकाले यसको मूल्यमा राम्रो वृद्धि देखिन सक्छ ।
चाँदीको प्रयोग गहनाका साथै विभिन्न उद्योगहरूमा पनि हुन्छ । सौर्य प्यानल, इलेक्ट्रोनिक्स, चिकित्सा उपकरण र फोटोग्राफीलगायतका क्षेत्रमा यसको माग उच्च छ । प्रविधिको विकाससँगै यसको औद्योगिक माग अझ बढ्ने सम्भावना छ, जसले गर्दा यसको बजार मूल्यमा सकारात्मक प्रभाव पर्नेछ ।
चाँदीको प्रयोगले ऊर्जा ह्रास घटाउने र प्रवाहलाई प्रभावकारी बनाउने भएका कारण सोलार प्यानल, विद्युतीय सवारी, स्मार्ट ग्रिड जस्ता प्रविधिमा चाँदीको प्रयोग अपरिहार्य मानिन्छ । जस कारण पछिल्ला वर्षहरूमा चाँदीको माग उल्लेखनीय रूपमा बढेको हो ।
यसका साथै नेपालमा चाँदीको आफ्नै सांस्कृतिक महत्त्व छ । पूजापाठ, गरगहना र विभिन्न धार्मिक कार्यहरूमा यसको प्रयोग हुँदै आएको छ ।
केही समययता व्यक्तिगत प्रयोगका लागि पनि चाँदीको माग बढ्दै गएको शाक्यको भनाई छ । राम्रा गहना, भाडाकुँडा बनाउनका लागि पनि चाँदीको माग बढेको छ ।
सुनको तुलनामा सस्तो र सजिलै पाइने भएकाले नेपाली बजारमा सामान्य लगानीकर्ताको आकर्षण पनि चाँदीतर्फ बढ्दै गएको छ । पछिल्लो समय आम उपभोक्ताले सुन खरिद गर्न सक्ने अवस्था नरहेपछि चाँदी खरिद गर्नेहरु बढेका छन् ।
सुनसँगै चाँदीको मूल्य पनि तीब्र गतिमा बढिरहेकाले चाँदीलाई विकल्पका रूपमा रोज्न थालेका छन् ।
चाँदीको मूल्य यही रफ्तारमा बढिरहने हो भने सुन जस्तै बहुमूल्य धातुको रूपमा चाँदी पनि हुन सक्ने उनको भनाई छ ।
दिन प्रतिदिन बढिरहेको चाँदीको मूल्यका कारण पनि नेपालीहरु बेलैमा चाँदी किनेर सुरक्षित राख्न तर्फ केन्द्रित भएका छन् । पछिल्लो समयको चाँदीको मूल्य वृद्धिको अवस्था हेर्ने हो थोरै लगानी गर्नेहरुका लागि चाँदीमा लगानी उपयुक्त हुने वरिष्ठ उपाध्यक्ष शाक्यको भनाई छ ।
पछिल्लो समय उपभोक्ताहरु सुनमा भन्दा बढी चाँदीमा आकर्षीत भएको जय माता देवी ज्वेलर्सका राजकुमार बराइलीको भनाइ छ ।
गत वर्षतिर तिहारको समयमा सुनका गहना बढी मात्रामा बन्ने गरेको थियो । तर यसपालीको तिहारमा सुनका गहना बनाउने भन्दा चाँदीका भाँडाकुँडा बनाउनेहरु धेरै भएको बराइलीले बताए ।
समग्रमा हेर्दा, सुनको निरन्तर बढ्दो मूल्यका कारण चाँदी नेपाली बजारमा एउटा बलियो विकल्पका रूपमा स्थापित हुने सम्भावना प्रबल छ । सस्तो मूल्य, औद्योगिक माग र लगानी विविधीकरणको अवसरले यसलाई उपभोक्ता तथा लगानीकर्ता दुवैका लागि आकर्षक बनाएको छ । यदि यो प्रवृत्ति कायम रहेमा निकट भविष्यमा चाँदीले नेपाली बजारमा आफ्नो छुट्टै पहिचान बनाउन सक्छ ।










प्रतिक्रिया