असोजमा नयाँ श्रम स्वीकृति लिनेको संख्या घट्यो, तीन महिनामा बाहिरिए २ लाख १० हजार


काठमाडौं । असोजमा वैदेशिक रोजगारीमा जानेको संख्या घटेको छ । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार भदौको तुलनामा असोजमा वैदेशिक रोजगारीमा जानेको संख्या १२ हजार ४ सय ७१ ले कम भएको हो ।

विभागका अनुसार भदौमा ४५ हजार ७ सय ३२ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए । असोजमा ३३ हजार २ सय ६१ जनामात्र श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् ।

यता, श्रम स्वीकृति नवीकरण गर्नेको संख्या भने भदौको तुलनामा असोजमा बढेको देखिन्छ । भदौमा २२ हजार २ सय ४० जनाले पुनः श्रम स्वीकृति लिएका थिए भने असोजमा ३१ हजार ३ सय ७३ जनाले पुनः स्वीकृति लिएको विभागले जनाएको छ ।

असोजमा नयाँ र पुन गरी ६४ हजार ६३४ जनाले श्रम स्वीकृति लिएका छन् । असोजमा युएईका लागि साढे १८ हजार ४४६ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांक छ । युएईपछि कतारका लागि ११ हजार ३० जनाले श्रम स्वीकृति लिएका छन् भने साउदीका लागि ८ हजार ७ सय ९१ जनाले श्रम स्वीकृति लिएका छन् । कुवेतका लागि चार हजार ५ सय २३ जना छन् ।

असोजमा ६४ हजार ६३४ जनाले श्रम स्वीकृति लिएसँगै चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या २ लाख १० हजार पुगेको छ ।

विभागका अनुसार चालु आर्थिक वर्ष २०८२\८३ को साउन, भदौ र असोजमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएको जानेको यो संख्या अघिल्लो बर्षको तुलनामा बढेको देखिन्छ । गत आव २०८१\८२ को सोही अवधिमा १ लाख ७० हजार ६ सय ३ जनाले श्रम स्वीकृति लिएका थिए ।

प्रकाशित मिति: १८ कार्तिक २०८२, मंगलबार  ११ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।