जिली ईएक्स फाइभको विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो

सुरक्षा र डिजाइनमा अन्तर्राष्ट्रिय पुरस्कार बटुल्दै


काठमाडौँ । जिली अटो ग्रुपले आफ्नो पूर्ण विद्युतीय एसयूभी जिली ईएक्स फाइभको २ लाख १० हजार युनिट बिक्री कायम गरी ऐतिहासिक उपलब्धि हासिल गरेको छ ।

यो उपलब्धिले जिली ईएक्स फाइभलाई आफ्नो वर्गको सबैभन्दा सफल नयाँ विद्युतीय सवारीहरूमध्ये एकको रूपमा स्थापित गरेको कम्पनीको दाबी छ ।

उत्पादक देश चीनमा जिली ईएक्स फाइभले आम उपभोक्ताको मन जित्दै सार्वजनिक भएको करिब सात महिनामै १ लाख युनिटभन्दा बढी बिक्री वितरण गर्न सफल भएको थियो । थाइल्यान्ड, इन्डोनेसिया, अस्ट्रेलिया, न्यूजिल्यान्ड, केही युरोपेली देशहरू र ल्याटिन अमेरिकी क्षेत्रहरू गरी हाल यो मोडल २६ देशहरूमा उपलब्ध छ ।

जिली अटोले सन् २०२५ को पहिलो छ महिनामै विश्वभर १४ लाख सवारीसाधन बिक्री गरी अघिल्लो वर्षको तुलनामा ४७ प्रतिशतको वृद्धि हासिल गरेको छ । यस उपलब्धीसँगै कम्पनीले आफ्नो वार्षिक बिक्री लक्ष्यलाई २० लाख ७१ हजार यूनिटबाट बढाएर ३० लाख युनिट पु¥याएको घोषणा गरेको छ ।

२ लाख १० हजार भन्दा बढी विश्वव्यापी बिक्रीलाई कम्पनीले आफ्ना ग्राहकहरूको विश्वास र जिलीको विश्वस्तरीय विद्युतीय सवारी उत्पादन क्षमताको प्रमाणको रुपमा लिएको बताएको छ ।

आगामी वर्षहरूमा जिली अटोले ब्राजिल, पोल्यान्ड, बेलायत, इटाली र हङकङ जस्ता प्रमुख बजारहरूमा आफ्नो उपस्थिति अझ विस्तार गर्ने र नयाँ ऊर्जा सवारी उत्पादन सञ्जाललाई तीव्र गतिमा अघि बढाउने योजना बनाएको छ ।

नेपालमा हालै बिक्रीवितरण सुरू गरिएको यही मोडेल जिली ईएक्स फाइभले पनि नेपाली उपभोक्ताहरुको मन जित्न सफल भएको छ । ग्राहक तथा विद्युतीय गाडीप्रेमीहरूले स्वस्फूर्त रूपमा टेस्ट ड्राइभ र बुकिङ गर्न थालेका छन् । बढ्दो चासो र मागका कारण, नेपालका लागि जिली ईएक्स फाइभको आधिकारिक आयातकर्ता एलआरआर मोटस्र्ले देशैभर डिलरशिप विस्तार गर्ने योजना सार्वजनिक गरिसकेको छ।

अन्तर्राष्ट्रिय सम्मान र पुरस्कार थाप्दै जिली ईएक्स फाइभ

जिली ईएक्स फाइभले विश्वस्तरको सुरक्षा र डिजाइनमा नयाँ मापदण्ड स्थापित गरेको छ । यसले सन् २०२५ मा युरो एनक्याप र एएनक्याप (अस्ट्रेलाजियन न्यु कार एसेसमेन्ट प्रोग्राम) दुवैबाट फाइभ–स्टार सुरक्षा रेटिङ्ग प्राप्त गरेको छ ।

जिलीको अत्याधुनिक जीईए प्लेटफर्ममा आधारित ईएक्स फाइभको अधिक मजबुत शरीर संरचना र क्लोभरलिफ ऊर्जा–शोषण डिजाइनले गाडीको ठक्कारमा पनि उच्च सुरक्षा प्रदान गर्छ । हरेक ईएक्स५ मोडेलमा ७ वटा एयरब्याग, स्वचालित आकस्मिक ब्रेक प्रणाली, अड्याप्टिभ क्रुज कन्ट्रोल, लेन किपिङ असिस्ट, ब्लाइन्ड स्पट डिटेक्सन र ३६० डिग्री क्यामेरा प्रणाली जस्ता अत्याधुनिक सुरक्षा सुविधाहरू समाविष्ट भएको कम्पनीको दाबी छ ।

प्रकाशित मिति: २४ कार्तिक २०८२, सोमबार  १७ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।