सबै उद्योगमा जोडियो लाइन, कुन उद्योगले कति तिर्यो बक्यौता ?


काठमाडौँ ।  नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्क लाइन विवादमा मुछिएका उद्योगहरुमा विद्युत आपूर्ति सुचारु भएको छ । विद्युत् उपभोग गरेर प्रिमियम महसुल नतिरेका उद्योगमा काटिएका लाइन पुनः जोडिएको हो ।

प्राधिकरणले निर्धारण गरेको कुल बक्यौताको २८ किस्तामध्ये पहिलो किस्ता भुक्तान गरेपछि उद्योगमा विद्युत् आपूर्ति नियमित गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

अब कुनै पनि विद्युत्को लाइन काटिएको अवस्था नरहेको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले जानकारी दिए । डेडिकेटेड र ट्रङ्क लाइन महसुल बक्यौताका महसुल तिरेका÷नतिरेका सबै उद्योगहरुमा पनि लाइन सुचारु गरिएको उनको भनाइ छ ।

पछिल्लो पटक बक्यौता विवादका कारण २५ उद्योगको लाइन काटिएको थियो । तीमध्ये तीन उद्योगले नियमित महसुलसमेत नतिरेका कारण केही पहिले नै लाइन काटिएको थियो ।

यता, विद्युत् उपयोग गरेर प्रिमियममा महसुल नबुझाएका मध्ये एभरेस्ट पेपर मिल्स र बुटवल सिमेन्ट उद्योग पहिले नै बन्द भएको उनले बताए । ती उद्योगहरुको लाइन नजोडिएको र प्रिमियम बापतको रकम पनि भुक्तानी नभएको उनी बताउँछन् ।

त्यस्तै, निगमले सिमेन्टले आफ्नो ट्रान्सफर्मर मर्मत नगरी उद्योग नै बन्द गरेको छ ।

प्राधिकरणले गत असोज १२ गते सूचना जारी गरेर २८ किस्तामा बक्यौताका भुक्तानीका लागि २१ कार्यदिनको समय दिएको थियो । सो सूचना अनुसार १३ औद्योगिक ग्राहकले बक्यौता तिरेका थिए भने नतिरेका २५ उद्योगको लाइन काटिएको थियो ।

प्राधिकरणले कात्तिक ४ गते मुख्य ठुला छ उद्योगको लाइन काटेको थियो भने कात्तिक ७ गते १८ उद्योग गरी उद्योगको बिजुली आपूर्ति काटेको थियो ।

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवादमा रहेका छ वटा उद्योगले भने अन्तरिम आदेश लिएकाले विद्युत् लाइन काटिएको थिएन भने सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट र उदयपुर सिमेन्टले यसअघि नै भुक्तानी प्रतिबद्धता जनाएका कारण लाइन काटिएको थिएन ।

शुक्रबार विद्युत् काटिनेमा हिमाल आइरन, त्रिवेणी सिन्थेटिक यार्न, कसमस सिमेन्ट, पञ्चकन्या स्टिल, श्याम प्लास्टिक र गोयन्का फुड्स छन् । त्यस्तै एसआर स्टिल, पञ्चकन्या प्लास्टिक, भलबारी स्वचालित कारखाना, जगदम्बा सिन्थेटिक, एभरेस्ट रोलिङको पनि लाइन काटिएको छ । लाइन काटिएका अन्य उद्योगमा घाराना फुड्स, विशाल सिमेन्ट, एसआर फुड्स, सिद्वार्थ पेट प्लास्ट, बुटबल सिमेन्ट, सोना मिनरलस एन्ड आयल्स र निगाले सिमेन्ट हुन् । एभेरस्ट पेपर मिल्सले भने नियमित विद्युत् महसुल भुक्तानी नै नगरेकाले यसअघि नै लाइन काटिएको थियो ।

प्राधिकरणले गत मङ्गलबार बिहान जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डस्ट्रिज र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत् लाइन काटेको थियो ।
लाइन काटिएका छ उद्योगको मात्रै करिब चार अर्ब ३० करोड रुपैयाँ असुल बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

कुन उद्योगले कति तिरे ?

किस्ताबन्दी सुविधा लिनेमा १४ करोड रुपैयाँभन्दा धेरै बक्यौता रहेको हुलास स्टिलले पहिलो किस्ताबापत ५० लाख ४३ हजार रुपैयाँ बुझाएको थियो । त्यस्तै सिमरामा रहेको अशोक स्टिल्सले पनि पहिलो किस्ता ६३ लाख रुपैयाँ भुक्तान गरेको छ । यी उद्योगहरुले विद्युत लाइन काटिनु भन्दा अगाडि नै महसुल भुत्तान गरेको हुन् ।

विद्युत लाइन काटिएपछि रकम भुत्तान गर्ने उद्योगहरुमा घराना फुड्स, सिद्धार्थ पेटप्लास्ट, गोकर्णा फुड्स, श्याम प्लाष्टिक उद्योग, पन्चकन्या प्लाष्टिक इन्डस्ट्रीज, पन्चकन्या स्टिल इन्डस्ट्रीज, एसआर फुड्स, भलवारी स्वचालित कारखाना, एसआर स्टिल इन्डस्ट्रीज, एभरेस्ट रोलिङ मिल, रिलायन्स स्पिनिङ मिल्स, त्रिवेणी सिन्थेटिक यार्न, हिमाल आइरन एण्ड स्टिल्स रहेका छन् ।

यस्तै, शिवम् सिमेन्ट, सोनपुर मिनरल्स एण्ड आयल, कस्मस सिमेन्ट प्याक्ट्री, घोराही सिमेन्ट उद्योग, अर्धखाँची सिमेन्ट उद्योग, त्रिवेणी स्पिनिङ मिल्स, विशाल सिमेन्ट इन्डस्ट्रीज, जगदम्बा स्टिल्स, जगदम्बा सिन्थेटिक्स रहेका छन् ।

घराना फुड्सले ६ लाख ७० हजार ३३५ रुपैयाँ भुक्तानी गरेको छ भने सिद्धार्थ पेटल्यास्टले ३ लाख ५३ हजार ८३ रुपैयाँ भुत्तानी गरेको छ ।

यता, गोयन्का फुड्सले ५ लाख २७ हजार ४०५,श्याम प्लास्टिक उद्योगले १ लाख ७५ हजार ३४५, पञ्चकन्या प्लास्टिक इन्डस्टिज ७ हजार ९५५, पञ्चकन्या स्टिल इन्ड्रस्टिज १ लाख ६८ हजार ३४ रुपैयाँ भुत्तानी गरेको छ । यता, एसआर फुड्सले ५ लाख ३० हजार ४३२ रुपैयाँ, भलवारी स्वचालित कारखानाले १ लाख ६ हजार ९१५ रुपैयाँ भुत्तानी गरेको छ ।

यस्तै, एसआर स्टिल इन्ड्रस्टिज ५८ हजार २९ रुपैयाँ, एभरेष्ट रोलिङ मिलले ६२ हजार ६४८ रुपैयाँ, रिलायन्स स्पिनिङ मिल्सले २ करोड ७५ लाख रुपैयाँ भुत्तानी गरेको छ । यस्तै, त्रिवेणी सिण्डिकेट यार्नले १५ लाख ५० हजार २७८ रुपैयाँ, हिमाल आइरन एण्ड स्टिल्सले २४ लाख ४० हजार रुपैयाँ भुत्तानी गरेको छ ।

यता, शिवम् सिमेन्टले २ करोड ३८ लाख ८८ हजार २४५ रुपैयाँ, सोनपुर मिनरल्स एण्ड आयलले ५ लाख ८ हजार ५४६ रुपैयाँ, कस्मस सिमेन्ट प्याल्ट्रीले ३४ लाख ३० हजार २०० रुपैयाँ भुत्तानी गरेको छ । यस्तै, घोराही सिमेन्ट उद्योगले १ करोड २९ लाख ६९ हजार ९७६ रुपैयाँ, अर्धखाँची सिमेन्ट उद्योग १ करोड ६० लाख १५ हजार ८४५ रुपैयाँ भुत्तानी गरेको छ ।

यता, त्रिवेणी स्पिनिङ मिल्सले ८ करोड १४ लाख ६३ हजार ४५४ रुपैयाँ भुत्तान गरेको छ भने विशाल सिमेन्ट इन्ड्रस्टिजले ११ लाख १७ हजार ३५५ रुपैयाँ, जगदम्बा स्टिल्सले ५ करोड ३२ लाख ८ लाख ६१३ रुपैयाँ भुत्तान गरेको छ । यस्तै, जगदम्बा सिण्डिकेट्सले ७३ लाख २२ हजार १११ रुपैयाँ भुत्तान गरेको छ ।

 

प्रकाशित मिति: २७ कार्तिक २०८२, बिहिबार  १२ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।