काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउन –असोज)मा कामदारको तलब तथा ज्यालामा वृद्धि भएको छ ।
आइतबार राष्ट्र बैंकले सार्वजनिक गरेका तथ्यांक अनुसार तलब तथा ज्याला सूचकाङ्क ४.४८ प्रतिशतले बृद्धि भएको छ, जुन गत आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासको तुलनामा १.१७ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा यस्तो सूचकाङ्क ३.३१ प्रतिशतले बढेको थियो ।
यसले कामदार क्रय शक्तिमा वृद्धि भएको संकेत गर्दछ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा तलब र ज्याला वृद्धिदर उच्च रहनुले श्रम बजारमा सुधारको संकेत देखिएको अर्थविद्हरु बताउँछन् ।
पछिल्लो समय वैदेशीक रोजगारीमा जानेको संख्या उच्च भएको हँदा आन्तरिक श्रम बजारमा कामदारको आपूर्ति कम भएको र ज्यालादरमा चाप परेको जानकारहरुको बुझाई छ । यसरी आम्दानी र ज्याला सुचकाङ्कमा भएको वृद्धिले नेपाली अर्थतन्त्रमा सुधार आउँदै गएको र श्रम बजारमा पनि सुधार आउँदै गएको रुपमा लिन सकिने जानकारहरु बताउँछन् ।
कुन प्रदेशमा कति छ आम्दानी र ज्याला सुचकाङ्क ?
प्रदेशगत रुपमा हेर्दा यो आर्थिक वर्षको पहिलो त्रैमासमा कोशी प्रदेशको वार्षिक बिन्दुगत तलब तथा ज्याला सूचकाङ्कको बृद्धिदर १.१२ प्रतिशत रहेको छ ।
यस्तै मधेश प्रदेशको ३.६२ प्रतिशत, बागमती प्रदेशको ४.१६ प्रतिशत, गण्डकी प्रदेशको ९.४२ प्रतिशत आम्दानी र ज्याला सुचकाङ्क रहेको छ । यस्तै लुम्बिनी प्रदेशको कामदार तथा ज्याला सुचकाङ ६.६८ प्रतिशत, कर्णाली प्रदेशको १.३६ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ५.६२ प्रतिशत रहेको छ ।
प्रदेशगत यहि अवधिमा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.३३ प्रतिशत रहेको छ । मधेश प्रदेशको १.२० प्रतिशत, बागमती प्रदेशको १.१३ प्रतिशत, गण्डकी प्रदेशको १.१६ प्रतिशत मुद्रास्फीति रहेको छ । लुम्बिनी प्रदेशको १.८९ प्रतिशत, कर्णाली प्रदेशको १.९१ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ०.६९ प्रतिशत मुद्रास्फीति कायम रहेको छ । समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.४३ प्रतिशत, तराईको १.२९ प्रतिशत, पहाडको १.५० प्रतिशत र हिमालको २.३३ प्रतिशत रहेको छ ।
चालु आर्थिक वर्ष २०८२/८३ असोज महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति १.३२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.५१ प्रतिशत रहेको थियो ।
यहि अवधिमा उपभोग्य वस्तुको वार्षिक विन्दुगत थोक मुद्रास्फीति १.२४ प्रतिशत ऋणात्मक रहेको छ भने मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक विन्दुगत थोक मुद्रास्फीति क्रमशः २.७१ प्रतिशत र २.४० प्रतिशत रहेको छ ।
यस्तै यो अवधिमा निर्माण सामग्रीको थोक मूल्य सूचकाङ्क ३.८८ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्ष २०८२/८३ असोज महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति १.४७ प्रतिशत रहेको छ । सन् २०२५ अक्टोबर महिनामा भारतमा यस्तो मुद्रास्फीति ०.२५ प्रतिशत रहेको छ ।












प्रतिक्रिया