काठमाडौं । वैदेशिक रोजगारी भयावह बन्दै गएको छ । वैदेशिक रोजगारीको विषयमा सरकारले स्वदेशमा नै उचित तालिम नदिँदा मृत्युदरको संख्या भयावह बनेको हो । रोजगारीको सिलसिलामा प्रत्येक दिन करिब ३ जना नेपाली श्रमिकले विदेशमा ज्यान गुमाउने गरेका छन् ।
वैदेशिक रोजगार बोर्डका अनुसार आर्थिक वर्ष आर्थिक वर्ष २०८१/०८२ मा वैदेशिक रोजगारीमा रहेका एक हजार २५५ जनाको मृत्यु भएको थियो ।
यस्तै, बोर्डका अनुसार आर्थिक वर्ष २०७६/७७ मा ११९, ०७७/०७८ मा १०४, ०७८/७९ मा ९७, ०७९/८० मा १६४ र ०८०/८१ मा ११४ जनाले ज्यान गुमाएका थिए । यो संख्या वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर जानेको संख्या मात्रै हो । गैर कानुनी मध्यमबाट श्रम स्वीकृति नलिई जानेको मृत्युदर झनै डरलाग्दो छ ।
परदेशमा नेपाली श्रमिकको मृत्यु हुने थुप्रै कारणमध्ये हृदयघात (हार्ट अट्याक) र कार्डियाक अरेष्ट प्रमुख हुन् । कठिनपूर्ण श्रम, तनाव, प्रतिकुल मौसम र खराब जीवनशैलीका कारण बिदेशमा कार्यरत नेपाली श्रमिकमा मुटुसम्बन्धी समस्या बढ्दै गएको पाइएको छ ।
नेपालले करिब ११० देशमा श्रमिक पठाउँदै आएको छ । सो मध्ये आकर्षक गतव्य मानिने सयुक्त अरव इमिरेट्स (युएई) मृत्युदर उच्च छ । युएई पछि मलेसिया, साउदी अरब, कतार, कुवेत, दक्षिण कोरियालगायत मुलुकमा ज्यान गुमाउने नेपालीको संख्या अत्यधिक छ।
यूएईमा ७० प्रतिशत श्रमिकले हृदयाघात र अन्य मुटुसम्बन्धी रोगले ज्यान गुमाउने गरेका छन् । यस्तै, सडक दुर्घटना, कार्यस्थल दुर्घटनालगायत कारण पनि नेपालीले ज्यान गुमाउने गरेका छन् ।
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा यूएईमा ९३ जना नेपालीको मृत्यु भएको छ ।
२०८२ साउन १ गतेदेखि कात्तिक मसान्तसम्मको अवधिमा उनीहरूको मृत्यु भएको यूएईको अबुधावीस्थित नेपाली दूतावासले जनाएको छ । २०८२ साउनमा ३२, भदौमा १९, असोजमा २८ र कात्तिकमा १४ जना नेपालीको यूएईमा मृत्यु भएको हो । मृत्यु हुनेहरू सबै वैदेशिक रोजगारीको सिलसिलामा यूएई गएकाहरू हुन् ।
नेपाली दूतावासका अनुसार, गत आर्थिक वर्ष २०८१/८२ मा यूएईमा ३१२ जना नेपालीको मृत्यु भएको थियो । गत आर्थिक वर्ष औसतमा प्रत्येक महिना यूएईमा २६ जना नेपालीको मृत्यु भएको थियो ।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा यूएईमा २३१ जना नेपालीले ज्यान गुमाएका थिए ।
यता, रोजगारीको सिलसिलामा कात्तिकमा १३ हजार, असोजमा १८ हजार र भदौ २५ हजार नेपाली श्रमिक युएई गएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ ।
वैदेशिक रोगजारीमा गएका श्रमिकको मृत्युको तथ्यांकले रोजगारीका लागि जाने प्रक्रियादेखि लिएर गन्तव्य मुलुकमा श्रमिक सुरक्षा सुनिश्चित गर्ने राज्यका संयन्त्र सबै कमजोर भएको संकेत दिन्छ।
तीस वर्षको अवधिमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ५९ लाख ६९ हजार रहेको सरकारको आर्थिक सर्वेक्षणमा उल्लेख छ । ९३.८ प्रतिशत पुरुष र ६.२ प्रतिशत महिलाले विदेशलाई नै रोजिरोटीको माध्यम बनाएका छन् ।
पछिल्लो एक दशकमा मात्रै भारतबाहेकका मुुलुकमा ६० लाख ९८ हजार बढी नेपाली श्रमिक कामको खोजीमा विदेशीएका छन् ।
तर, श्रमिकलाई पठाउने क्रममा भइरहेका अनियमितता, स्वास्थ परीक्षणमा हुने लापरबाही, प्रशिक्षणको अभाव र सुरक्षा–सजगता नबढाइने समस्याले मृत्यु दर घट्नुको सट्टा उल्टै बढ्दो क्रममा छ ।
धेरै श्रमिकहरू काम गर्ने वातावरण, तलब, बीमा, कामको प्रकृति र जोखिमबारे पर्याप्त जानकारी नपाई विदेश जान बाध्य हुने गरेको देखिएको विज्ञ बताउँछन् । पर्याप्त अवसर र आकर्षक ज्यालाले नेपालीहरू घरेलु श्रम, सुरक्षा, सफाइजस्ता क्षेत्रका जोखिमपूर्ण काममा समेत होमिने गरेका छन् ।
व्यक्तिगत श्रम स्वीकृतिले गर्दा वैदेशिक रोजगारको क्षेत्र सुरक्षित नबनेको वैदेशिक रोजगार व्यवसायी महासंघका निवर्तमान अध्यक्ष राजेन्द्र भण्डारीले बताए ।
‘व्यक्तिगत श्रम स्वीकृतिका कारण वैदेशिक रोजगार क्षेत्र नै अस्तव्यस्त भएको छ, व्यक्तिमार्फत विदेश जाँदा समस्या परेको खण्डमा कानुन उपचार नपाउँदा पनि कतिपयले आत्महत्या गरेका छन्’ उनले भने, ‘यसलाई न मन्त्रालयले रोक्न सकेको छ न विभागले नै रोक्न सकेको छ ।’
व्यक्तिगत श्रम स्वीकृति बिचौलियाहरूले ल्याएको बताउँदै उनले बिचौलिया पोस्ने काम र श्रमिकलाई अफ्टारो हुने काम तत्काल अन्त्य हुनुपर्ने बताए । वैदशिक रोजगारमा गइसकेका व्यक्तिलाई ठुलठुला रोजगारदाताहरूले बेलाबेला सचेतना कार्यक्रम गर्ने, काउन्सिलिङ गर्ने ग¥यो भने पनि बाहिरी मुलुकमा ज्यान गुमाउनेको संख्या घट्ने उनी बताउँछन् ।
समग्र वैदेशिक रोजगारलाई प्रभावकारी बनाउन ऐन नियम प्रष्ट बनाउनुपर्ने कुरामा जोड दिँदै उनले भने, ‘कामदार छनोट प्रक्रियादेखि समग्र कुरामा ध्यान दिएर त्यसलाई सीपसँग जोड्न सकियो भने मृत्युदरलाई कम गर्न सकिने छ । त्यसैले त्यस्ता कुराहरूमा ध्यान दिनुपर्छ ।’
दुई लाख ७३ हजारभन्दा बढीले लिए श्रम स्वीकृति
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा दुई लाख ७३ हजारभन्दा बढीले श्रम स्वीकृति लिएका छन् । चार महिनाको अवधिमा नयाँ र पुनः श्रम स्वीकृति गरी २ लाख ७३ हजार ९४ जनाले श्रम स्वीकृति लिएका हुन् ।
वैदेशिक रोजगार विभागका अनुसार, २०८२ साउन १ गतेदेखि कात्तिक मसान्तसम्मको अवधिमा कुल दुई लाख ७३ हजार ८१० जनाले श्रम स्वीकृति लिएका छन् । कात्तिकमा मात्र ७३ हजार ९४नेपालीले श्रम स्वीकृति लिएको विभागले मंगलबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
कात्तिक महिनामा ६४ हजार ४९० जना पुरुष र आठ हजार ६०४ जनाले वैदेशिक रोजगारीमा जान विभागबाट श्रम स्वीकृति लिएका थिए । विभागको तथ्यांकअनुसार, २०८२ साउनमा ६८ हजार ११०, भदौमा ६७ हजार ९७२, असोजमा ६४ हजार ६३४ र कात्तिकमा ७३ हजार ९४ जनाले श्रम स्वीकृति लिएका छन् ।
गत आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा कुल दुई लाख ४१ हजार ५८१ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए ।
३ वर्षमा भित्रियो ४३ अर्ब रेमिट्यान्स
वैदेशिक रोजगारीमा श्रम स्वीकृति लिएर गएका श्रमिकबाट ३ वर्षमा ४३ अर्ब रुपैयाँ विप्रेषण आप्रवाह (रेमिट्यान्स) भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
आर्थिक वर्ष २०८१/८२ मा कुल १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । यस्तै, आव २०८१/८२ मा १४ खर्ब ४५ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको भित्रिदा २०७९र८० मा १२ खर्ब २० अर्ब रेमिट्यान्स भित्रिएको थियो ।
यता, चालु आव २०८२/८३ को तीन महिनामा रेमिट्यान्स ३५.४ प्रतिशतले वृद्धि भई ५ खर्ब ५३ अर्ब ३१ करोड पुगेको छ । केन्द्रीय तथ्याङ्क अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.९ प्रतिशतले बढेको थियो ।
२०८२ असोज महिनाको विप्रेषण आप्रवाह २ खर्ब १ अर्ब २२ करोड रहको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब ४४ अर्ब १७ करोड रहेको थियो ।
यता, ३ महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ) लिने नेपालीको सङ्ख्या १ लाख २३ हजार ४५९ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ७७ हजार २५७ रहेको छ ।







