सिञ्जाद्वारा तीन वर्षमा १७ किमी सडक निर्माण


जुम्ला । जुम्लाको सिञ्जा गाउँपालिकाले एक वर्षको अवधिमा करिब १ सय ९९ योजना सम्पन्न गरेको छ ।

गाउँपालिकाले गत आर्थिक वर्षमा पालिकाभित्रका ६ वडामा सञ्चालित एक सय ९९ योजना सम्पन्न भई सञ्चालनमा आएको गाउँपालिका प्रवक्ता तीर्थ वडले जानकारी दिए।

सोही अवधिमा पालिकास्तरीय ६५ र वडास्तरीय १३४ योजना सम्पन्न भएका छन् । २० लाख माथिका गाउँपालिकास्तरीय १२, र वडा स्तरीय तीन वटा योजना रहेका थियो । पाँचदेखि २० लाखसम्मका पालिकास्तरीय १५ र वडास्तरीय २७ योजना र पाँच लाखभन्दा कम पालिकास्तरीय ३८ र वडास्तरीय १०५ योजना सम्पन्न भएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए ।

गाउँपालिकाले आव २०८१÷८२ मा ३८ करोड ४६ लाख रुपैयाँ अनुमानित बजेट ल्याएकोमध्ये कूल बजेटको चालुतर्फ र पुँजीगततर्फ गरी ३५ करोड ८९ लाख ४ हजार रुपैयाँ खर्च भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर शाहीले बताए । उक्त आवमा पालिकाको २६ लाख ६४ हजार रुपैयाँ आन्तरिक राजस्व सङ्कलन भएकोे गाउँपालिका प्रमुख शाहीको भनाइ छ ।

गाउँपालीकाभित्रका बस्तीमा सडक पहुँच विस्तार गर्ने, कृषि सडक, आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा सहज र नागरिकलाई प्रत्यक्ष स्थानीय सरकारको प्रत्याभूति दिलाउने उद्देश्यले साढे तीन वर्षमा झण्डै १७ किलोमिटर नयाँ सडक विस्तार गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शाहीले बताए ।

प्रकाशित मिति: ८ मंसिर २०८२, सोमबार  १० : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।