काठमाडौं । पछिल्ला महिनाहरूमा निक्षेपको ब्याजदर निरन्तर घट्दै जाँदा आधारदर पनि घट्दै गएको छ ।
हाल वाणिज्य बैंकहरूको औसत आधार दर साढे ५ प्रतिशतमा झरेको छ । आधारदर घटेसँगै कर्जाको ब्याजदर पनि घटेको छ । जसले ऋण लिन सस्तो बनाएको छ ।
१८ वटा वाणिज्य बैंकहरुको आधार ६ प्रतिशतभन्दा कम छ। दुई बैंकको आधार दर भने ६ प्रतिशतभन्दा माथि छ। प्राइम कमर्सियल बैंकको ६.१२ प्रतिशत र एनआइसी एशिया बैंकको ६.६८ प्रतिशत छ।
पछिल्लो विवरणअनुसार राष्ट्रिय वाणिज्य र एभरेष्ट बैंक र स्ट्यान्डर्ड चार्टर्डको आधार दर ५ प्रतिशतभन्दा तल झरेको छ। आधार दर स्टान्डर्ड चार्टर्ड बैंकको ४.३६, राष्ट्रिय वाणिज्य बैंकको आधारदर ४.५६ प्रतिशत हुँदा एभरेष्ट बैंकको ४.८५ प्रतिशतमा झरेको छ । यस्तै सबैभन्दा कम आधारदर स्ट्याण्डर्ड चार्टर्ड बैंकको ४.३६ प्रतिशत छ ।
यस्तै नेपाल बैकको आधार दर ५.२२ प्रतिश रहँदा ग्लोबल आइएमई बैंकको आधार दर ५.३३ प्रतिशत, कृषि विकास बैंकको ५.४ प्रतिशत, नबिल बैंकको ५.४१ प्रतिशत आधार दर रहेको छ ।
यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको आधारदर ५.५१ प्रतिशत रहँदा सानिमा बैंकको ५.६१ प्रतिशत, प्रभु बैकको ५.६९ प्रतिशत, एनएमबि बैंकको ५.७२, माछापुच्छ्रे बैंकको ५.७६, सिद्धार्थको ५.८६ प्रतिशत, नेपाल एसबीआई बैंकको ५.८८, कुमारी बैंकको ५.८८ र लक्ष्मी सनराइज बैंकको ५.८८ प्रतिशत आधारदर छ ।
यस्तै हिमालयन बैंकको ५.८९ प्रतिशत आधारदर हुँदा सिटिजन्स बैंक इन्टरनेसनलको ५.९४ प्रतिशत छ । प्राइम कमर्सियल बैंकको आधारदर ६.१२ प्रतिशत हुँदा एनआइसी एसिया बैंकको ६.६८ प्रतिशत आधारदर छ । बैंकले आधार दरमा प्रिमियम जोडेर कर्जाको ब्याजदर निर्धारण गर्छन्।
ऋणको माग सुस्त रहेका कारण धेरैजसो बैंकले न्यून प्रिमियम थपेर कर्जाको स्किम ल्याएका छन्। एनआइसी एशिया बैंकले आधार दरमा शून्य प्रतिशत प्रिमियममा सेयर धितो कर्जा दिइरहेको छ।
आधारदर झरेपछि बैंकहरूको ब्याजदर पनि घट्दै जाँदा कर्जा लिन झनै सहज हुँदै गएको छ । अर्थतन्त्रमा आएको सुस्तताका कारण कर्जाको माग बढ्न नसकेको समयमा बैंकहरूको आधार दर (बेस रेट) निरन्तर घट्दै गएको हो । यही कारण ब्याजदर पनि क्रमशः कम हुँदै आएको छ । ब्याजदरको प्रमुख निर्धारक आधार दर हो ।
बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलताको अवस्था आएसँगै बैंकहरुले धमाधम निक्षेपको ब्याजदर घटाउँदै आएका छन् । निक्षेपको ब्याजदर घटेसँगै बैंकहरुको आधार दर पनि तल झर्दै आएको हो । आधार दरमा निश्चित प्रतिशत प्रिमियम थप गरेर कर्जाको ब्याजदर निर्धारण हुने गर्छ । तसर्थ, आधार दर घट्दा कर्जाको ब्याजदर पनि घट्ने गर्छ । तर कर्जाको ब्याजदर घट्दा पनि माग भने बढ्न सकेको छैन ।
अर्थतन्त्रको सुस्तता र राजनीतिक अस्थिरता तथा निजी क्षेत्रको मनोबल घटेको लगायतका कारण पनि अहिले कर्जा लगानीको लागि उपयुक्त हुन नसकेको निजी क्षेत्रले बताउँदै आएको छ । सरकारले निजी क्षेत्रलाई सुरक्षाको प्रत्याभूति दिनुपर्ने बताउँदै आएका छन्।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले निजी क्षेत्र आतंकित बन्न पुगेको थियो । जसले लगानीको वातावरण बिगारेको निजी क्षेत्रको भनाइ छ । निजी क्षेत्रले लगानीको सुरक्षा पहिलो प्राथमिकता भएको बताउँदै आइरहेका छन् ।












प्रतिक्रिया