यूएईले नेपालीका लागि श्रम तथा भिजिट भिसा पुनः खोल्यो, नयाँ नियमसहित प्रक्रिया सुरु


काठमाडौँ । अब श्रम तथा भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (यूएई) जान पाइने भएको छ । जेनजी आन्दोलनपछि नेपालीका रोक लगाएको श्रम तथा भिजिट भिसा बुधबारदेखि खुलेको हो । रोजगारी तथा भ्रमणका लागि यूएई जान चाहनेहरुले भिसा पाउन थालेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवन सिंह गुरुङले जानकारी दिए ।

त्यसो त यूएईले नेपालीलाई भिसा रोकेको कुरा हालसम्म औपचारिक रुपमा केही बताएको थिएन । भिसा खुलाएको कुरा पनि औपचारिक रुपमा नेपाललाई जानकारी नगराएको उनले बताए ।
यूएईले नेपालीहरुलाई प्रहरीको चारित्रिक प्रमाणपत्र अनिवाय गरेर भिसा दिन सुरु गरेको गुरुङले बताए ।

भदौ २४ गते जेनजी प्रदर्शनपछि अपराधिक गतिविधिमा संलग्न व्यक्तिहरू जेलबाट भागेको र उनीहरू युएई छिर्न सक्ने भन्दै युएईले भिसामा कडाई गरेको हो।

पछिल्ला केही वर्षदेखि युएई नेपालीहरूको पहिलो आकर्षक गन्तव्य मुलुक बनिरहेको छ । आकर्षक ज्याला र सहज रोजगारीको उपलब्धताले नेपालीको रोजाइमा युएइ परिरहेको छ ।

चालु आर्थिक वर्षको कात्तिकमा युएइको लागि १३ हजार ३९९ जनाले श्रम स्वीकृति लिएका छन् । यो नयाँ र पुन श्रम स्वीकृति लिनेको संख्या हो । कात्तिक महिनामा २ हजार ५३८ जनाले मात्र नयाँ श्रम स्वीकृति पाएका छन् । अन्यले पुरानै श्रम स्वीकृतिलाई नविकरण गरेका हुन् ।

गत वर्षको सोही अवधिमा युएईका लागि २३ हजारभन्दा धेरैले श्रम स्वीकृति लिएका थिए । धेरै नेपालीहरूको प्रमुख गन्तव्य मुलुकले नै भिसा नदिँदा नयाँ श्रम स्वीकृति लिनेको संख्यामा भने कमी आएको व्यवसायीहरू बताउँछन् ।

यता, आर्थिक वर्ष २०८१/८२ मा कुल ८ लाख ३९ हजार २६६ ले श्रम स्वीकृति लिएकोमा युएईका लागि मात्रै दुई लाख ७४ हजार ५९० जनाले (नयाँ तथा पुनः) श्रम स्वीकृति लिएका थिए। यो कुल संख्याको ३२ प्रतिशत हो ।

आर्थिक वर्ष २०८०/८१ मा पनि सबैभन्दा धेरै युवाले युएईका लागि नै श्रम स्वीकृति लिएका थिए । उक्त वर्ष कुल सात लाख ४१ हजार २५७ जनाले श्रम स्वीकृति लिएकोमा युएईका लागि एक लाख ९३ हजार ४३८ जनाले श्रम स्वीकृति लिएका थिए ।

यता, २०८१ असोजमा युएईका लागि १२ हजार ९४१ जनाले नयाँ श्रम स्वीकृति लिएका थिए । २०८२ असोजमा युएईका लागि ९ हजार ८९८ जनाले मात्रै श्रम स्वीकृति लिएको देखिन्छ ।

महिलाको रोजाइमा पनि युएई

सन् २०११/१२ यता वैेदशिक रोजगारीमा जाने महिलाको संख्या बढ्दै गएको छ । मुलुकको सामाजिक आर्थिक अवस्थामा भएको परिवर्तन र महिला सशक्तीकरणले वैदेशिक रोजगारीमा महिलाको आकर्षण बढाउँदे लगेको हो ।

नेपालबाट श्रम स्वीकृति दिइने देशहरुमध्ये एकतिहाइ महिलाले संयुक्त अरब इमिरेट्स छान्ने गरेको पाइएको छ । युएईपछि कुवेत र कतारमा बढी महिला गएका छन् । पछिल्लो समय अध्ययन र कामको दृष्टिकोणले जापान पनि धेरैको रोजाइमा परेको छ । २०८२ कात्तिकमा कुल २ हजार ३९७ जना महिला कामको खोजीमा युएइ गएका छन् । कुल १३ हजार ३९९ जना बाहिरिएकोमा महिला मात्रै २ हजार ३९७ जना गएका छन् ।

यता, २०८१/८२ मा कुल २ लाख ७४ हजार ५९० वैदेशिक रोजगारीको लागि युएई गएकोमा ३२ हजार ८१४ जना महिला रहेका छन् । २०८०/८१ मा कुल १ लाख ९३ हजार ४३४ जना युएई गएकोमा महिलाको संख्या २७ हजार ४३४ महिला छन् भने ७९/८० मा १ लाख १६ हजार १५९ गएकामा महिलाको संख्या २४ हजार ९१ महिला छन्

 

 

 

प्रकाशित मिति: ११ मंसिर २०८२, बिहिबार  १२ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।